निजामती ऐनले नचिनेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलित
दाङ । दाङसहित देशभरका स्थानीय तहका कर्मचारीहरूले आजदेखि साङ्केतिक विरोध सुरु गरेका छन्। उनीहरू आज पहिलो दिन निजामती पोशाक बिना कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्दै आन्दोलनमा उत्रिएका हुन्।
लमही नगरपालिकाको प्रशासन शाखाकी गायत्री थापाका अनुसार संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीहरूको अवस्था र पहिचान स्पष्ट रूपमा समेटिएको छैन। साथै प्रदेश सरकारले पनि यस विषयमा आवश्यक सम्बोधन नगरेको भन्दै कर्मचारीहरू असन्तुष्ट बनेका छन्।
उहाँले भन्नुभयो “संघीय सरकारले २०७५ सालमा कर्मचारीहरूलाई इच्छा विपरीत स्थानीय तहमा समायोजन गरेको थियो। तर हालसम्म उनीहरूको स्पष्ट पहिचान, सेवा सुरक्षा र भविष्यको सुनिश्चितताबारे ऐनमा ठोस व्यवस्था गरिएको छैन।”
कर्मचारीहरूका अनुसार प्रस्तावित संघीय निजामती ऐनले स्थानीय तहका कर्मचारीहरूको वृत्ति विकास, बढुवा तथा सेवा–सुविधाका विषयलाई स्पष्ट रूपमा सम्बोधन गरेको छैन, जसले उनीहरूलाई निराश बनाएको छ।
पहिलो चरणमा निजामती पोशाक नलगाई कार्यालयमा उपस्थित भई आफ्नो असन्तुष्टि व्यक्त गरिएको कर्मचारीहरूले जनाएका छन्।








प्रतिक्रिया राख्नुहोस्