तपाईँ सुन्दै हुनुहुन्छः

दलित समुदायमाथि भइरहेका घटनामा न्यायिक छानबिनको माग

धनकुटा । दलित समुदायसँग सम्बन्धित विभिन्न घटनामा न्यायिक छानबिन, विभेद अन्त्य तथा अधिकार सुनिश्चितताको माग गर्दै धनकुटास्थित विभिन्न संघ–संस्थाले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । 

दलित अधिकारकर्मी तथा संघ–संस्थाहरूले बिहीबार प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाउँदै पछिल्ला दिनहरूमा भइरहेका घटनाले दलित समुदायमा पीडामाथि पीडा थपिरहेको बताएका हुन् ।

ज्ञापनपत्रमा ललितपुरको सातदोबाटोबाट वैशाख ३ गते पक्राउ परेका सिन्धुलीको सुनकोशी गाउँपालिका–३ का श्रीकृष्ण विक वैशाख ७ गते बिहान प्रहरी हिरासतभित्रै मृत फेला परेको घटनाले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको उल्लेख छ । 

त्यसैगरी रोल्पाको गंगादेव गाउँपालिका–५ पाखापानीमा ११ वर्षीय बालक लोकेन्द्र विकमाथि कुटपिट भएको र उद्धारमा पुगेकाहरूमाथि समेत आक्रमण भएको घटनाप्रति पनि ध्यानाकर्षण भएको जनाइएको छ ।

नेपालमा दलित समुदाय कुल जनसङ्ख्याको करिब १३ दशमलव ४ प्रतिशत भए पनि दलितहरू गरिबी, विभेद र हिंसाबाट प्रभावित भइरहेको दलित एकता समाज धनकुटाका अध्यक्ष कोपिला शङ्करले बताउनुभयो । करिब ३६ प्रतिशत दलित अत्यन्त गरिबीमा रहेको तथा जातीय विभेदका धेरै घटना कानुनी दायरामा नआउँदा दण्डहीनता बढ्दै गएको उहाँको भनाइ छ । संविधानले समानता, मानव अधिकार र सामाजिक न्याय सुनिश्चित गरे पनि व्यवहारमा विभेद अन्त्य हुन नसकेको शङ्करले बताउनु भयो । 

ज्ञापन पत्रमार्फत सिन्धुली घटनाको निष्पक्ष र उच्चस्तरीय न्यायिक छानबिन गरी दोषीलाई कडा कारबाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति र सुरक्षा दिन, जातीय विभेदका सबै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि प्रभावकारी नीति र जनचेतनामूलक अभियान सञ्चालन गर्न माग गरिएको दलित विकास केन्द्र नेपाल धनकुटाका अध्यक्ष गोपाल बराइलीले बताउनु भयो । उहाँले सरकारले सार्वजनिक रूपमा व्यक्त गरेको माफीलाई व्यवहारमा कार्यान्वयन गर्न पनि आग्रह गर्नुभयो ।

ज्ञापनपत्र बुझ्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले ज्ञापन पत्र सम्बन्धित निकायमा पुर्‍याउने प्रतिबद्धता जनाउँदै कतिपय कुरा कानुनी जटिलताको कारण न्याय सम्पादनमा समस्या हुने गरेको बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button