तपाईँ सुन्दै हुनुहुन्छः

ऐरे इन्टरनेशनललाई राष्ट्रिय स्कुल च्याम्पियनसिप २०२६ को उपाधि

जनकपुरधाम । जनकपुरधाममा आज सम्पन्न टि–२० राष्ट्रिय स्कुल च्याम्पियनसिप २०२६ को उपाधि जनकपुरधामका ऐरे इन्टरनेशनल स्कुलले जीतेको छ । जनकपुरधाम स्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा भएको फाइनल खेलमा सिद्धार्थ शिशु सदन स्कुललाई ४ विकेटले पराजित गर्दै ऐरे इन्टरनेशनले उपाधि जितेको हो । 

टस जितेर ब्याटिङ गरेको सिद्धार्थ शिशु सदन स्कुलले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । सिद्धार्थका लागि सलाम साफीले ३४ बलमा २४ रन, आयुष यादवले १८ बलमा २० र बजरंगी मण्डलले १२ बलमा २१ रन बनाएका थिए । यस बाहेकका खेलाडीले दोहोरो अङ्कमा रन बनाउन नसक्दा सिद्धार्थ स्कुल ९९ रन मात्र जोडेका थिए ।

बलिङमा ऐरे इन्टरनेशन स्कुलका सार्थक सिंहले तीन विकेट, आर्दश झा दुई विकेट, निलेश रोय इन्टर शिवम यादवले समान एक/एक विकेट लिएका थिए । एक सय रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गर्न आएका ऐरेका खेलाडीहरूले १६.१ ओभरमा ६ विकेटको क्षतिमा १०१ रन बनाएर ४ विकेटले जीत निकालेका थिए ।

ऐरेका लागि ओपनर निलेश रोयले ५२ बलमा ५१ रन र मुनी यादवले १४ बलमा अविजित १० रन बनाएका थिए । बलिङमा सिद्धार्थका राहुल अधिकारी दुई विकेट, बजरंगी मण्डल, आयुष यादव र अर्जुन यादवले सम्मान एक/एक विकेट लिए । आजको खेलमा अर्ध शतक प्रहार गरेका निलेश रोय म्यान अफ द म्याच भएका थिए ।

प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरेका ऐरेका युवराज साह बेस्ट ब्याटर, उत्कृष्ट बलिङ गरेका जयनित मण्डल बेस्ट बलर र सिद्धार्थका आयुष यादव म्यान अफ द सिरिज भएका छन् । जिल्ला क्रिकेट संघ धनुषाको आयोजनामा बैशाख ७ गतेदेखि प्रतियोगिता शुरु भएको थियो । प्रतियोगितामा विभिन्न ८ वटा स्कुलका १६ वर्षमुनिका विद्यार्थी सहभागी थिए ।

विजयी भएका टिमलाई जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले मेडल सहित कप प्रदान गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै खेलकुदको विकासका लागि उपमहानगरपालिकाले विभिन्न प्रकारको लगानी गर्दै आएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button