तपाईँ सुन्दै हुनुहुन्छः

मल भित्रिने नाकामै मलको अभाव 

वीरगञ्ज । रासायनिक मल भित्रिने मुख्य नाका वीरगन्जसहित मध्य तराईका बारा, पर्सा, रौतहट सर्लाही लगायतका जिल्लाहरूमा चैते धान, मकै, उखु बाली तथा तरकारी बालीमा छर्ने मलको अभावको कारण किसानहरु चिन्तित भएका छन् । 

चैते धान, मकै र उखु बाली स्याहार्ने र मल छर्ने मुख्य सिजनमै बजारमा रासायनिक मलको चरम अभाव भएपछि किसानहरू चिन्तित भएका हुन् । 

बारा, पर्सा, रौतहट र सर्लाहीका किसानहरू एक महिनादेखि मलको खोजीमा भौँतारिइरहेका छन् । बालीको वृद्धिका लागि अत्यावश्यक युरिया, डीएपी र पोटास मल बजारमा सहज रुपमा उपलब्ध नहुँदा किसानहरू मलको खोजीमा भौँतारिएका छन् । 

“मल हाल्ने समय घर्किने बेला भयो, तर सहकारी र पसलमा मलको नामोनिसान छैन,” पर्सा बिरुवा गुठीका किसान विष्णुमाया पौडेलले बताउनुभयो । 

विष्णुमायाको पीडा सबै किसानको साझा समस्या बनेको छ । हरेक वर्ष खेतीको सिजन आउनुअघि नै मल अभावको हल्ला चल्ने र किसानले सास्ती खेप्नुपर्ने नियति बदलिएको छैन । “बाली लगाउने बेला मल पाइँदैन, ढिलो गरी मल पाइए पनि त्यसले बिरुवालाई खासै फाइदा गर्दैन,” पौडेल भन्नुहुन्छ, “सरकारले समयमा मलको व्यवस्थापन गर्न नसक्दा खेती नै धरापमा परेको छ।”

पछिल्ला वर्षहरूमा सिँचाइ सुविधा विस्तार र नगदे बालीप्रतिको आकर्षणले बारा–पर्साका किसानहरू आधुनिक र व्यावसायिक खेतीतर्फ उन्मुख भए पनि मलको अनिश्चित आपूर्तिको कारण किसानहरूमा निराशा छाएको छ । 

सरकारी अनुदानको मल समयमै नपाउँदा किसानहरू निजी बजारबाट महँगो मूल्यमा मल खरिद गर्न बाध्य छन् । यसले सानो स्तरका किसानहरूको उत्पादन लागत अस्वाभाविक रूपमा बढाएको छ । सरकारी संयन्त्रले समयमा मल पुर्‍याउन नसक्दा नेपाली किसानहरू भारतीय मलमा निर्भर हुनुपर्ने बाध्यता कायमै छ । सीमित आपूर्ति र अव्यवस्थित वितरण प्रणालीका कारण यो समस्या झन् जटिल बनेको पर्सा ठोरीका किसान प्रकाश खनालले बताउनुभयो । 

कृषि प्रधान देशमा बालिको मुख्य सिजनमै बर्षेनी मलको अभाव भोग्नुपर्ने समस्याले राज्यको कृषि नीतिमाथि नै प्रश्न उठाएको बताउँदै ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले राज्यका तिनै तहका सरकारले किसान केन्द्रित नीति कार्यक्रम आपसी समन्वयमा ल्याउनुपर्नेमा जोड दिनुभयो । 

उत्पादन वृद्धि, आत्मनिर्भरता र किसानको मनोबल जोगाउन अब ‘आयातित मल’ मा भर पर्नुको साटो समयमै आपूर्ति सुनिश्चित गर्ने दीर्घकालीन योजना आवश्यक रहेको श्रेष्ठले दाबी गर्नुभयो । 

मलको अभावले उत्पादन घट्ने मात्र होइन, अन्ततः यसले बजारमा खाद्य असुरक्षा र मूल्यवृद्धिको चक्रलाई समेत बढावा दिने खतरा बढाएको हुँदा यसतर्फ सरकार बेलैमा सचेत हुनुपर्ने माग किसानको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button