सीमानाकामा कडाइपछि नेपाली उपभोक्ता रक्सौल जान छाडे, भारतीय सीमावर्ती बजारहरू सुनसान
वीरगञ्ज। नेपाल–भारत सीमानाकामा कडाइ गरिएसँगै नेपाली उपभोक्ताहरू भारतको रक्सौल बजारमा सामान खरिदका लागी जान छाडेका छन् ।

वीरगंज, जीतपुर, सिमरा, पथलैया, निजगढ, हेटौँडा, नारायणघाट, पोखरा र काठमाडौँसम्मका नेपाली उपभोक्ताहरूको प्रमुख किनमेल गन्तव्यका रूपमा रहेको रक्सौल बजार अहिले सुनसान बनेको छ ।
गत वैशाख २ गतेदेखि सरकारले भन्सार नियमलाई कडाइका साथ लागू गर्दै सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार शुल्क लाग्ने व्यवस्था कार्यान्वयन गरेपछि सीमा क्षेत्रको व्यापारिक गतिविधिमा ठूलो असर परेको हो । यस अघि खुला सीमा र कमजोर निगरानीका कारण हजारौँ नेपाली उपभोक्ता दैनिकरूपमा रक्सौल बजार पुग्ने गरेका थिए । तर हाल आवागमनमा कडाइ बढेपछि ग्राहक सख्या उल्लेखनीय रूपमा घटेको व्यापारीहरूले बताएका छन् ।
रक्सौल बजारमा विशेषगरी घरेलु खाद्यान्न, कपडा, इलेक्ट्रोनिक सामान, कृषि सामग्री, मल तथा बीउबिजन जस्ता वस्तु नेपाली उपभोक्ताले बढी मात्रामा खरिद गर्दै आएका थिए । खुला सीमाको फाइदा उठाउँदै सानो मात्रामा सामान ढुवानी गर्ने कार्य पनि व्यापक रूपमा चल्दै आएको थियो ।
हाल सीमानाकामा निगरानी कडा भएपछि यी अधिकांश अनौपचारिक कारोबारहरू रोकिएका छन् । यसको प्रत्यक्ष असर रक्सौलका व्यापारीहरूमा परेको छ । नेपाली ग्राहकहरूमा अत्यधिक निर्भर रहेका व्यवसायीहरू अहिले नेपाली ग्राहकको प्रतीक्षामा दिन बिताइरहेका छन् ।
यता नेपालतर्फ वीरगंज बजार पनि आन्तरिक समस्याबाट प्रभावित बनेको छ । गत वैशाख ६ गते मुख्य सडक विस्तारको क्रममा डोजर चलाइएपछि बजार क्षेत्र अस्तव्यस्त बनेको छ । सडक विस्तारका कारण धेरै व्यापारी विस्थापित भएका छन् भने केहीले अस्थायी रूपमा व्यापार सञ्चालन गरिरहेका छन् ।
सीमानाकामा कडाइ र आन्तरिक बजार संरचनामा भएको परिवर्तनले दुवैतर्फको व्यापारमा असर पारेको देखिन्छ । एकातर्फ रक्सौल बजारमा ग्राहक अभाव छ भने अर्कोतर्फ वीरगंज बजार निर्माण कार्यका कारण अस्थिर बनेको छ । यसले सीमावर्ती अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको स्थानीय व्यवसायीहरूको भनाइ छ ।
व्यापारीहरूले दुवै देशका सम्बन्धित निकायहरूलाई व्यापारिक गतिविधि सहज बनाउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्