मुगुको राराबहुमुखी क्याम्पसमा पहिलोपटक स्नातकोत्तर पढाइ सुरु, उच्च शिक्षामा पहुँच विस्तार
मुगु। मुगु जिल्लास्थित राराबहुमुखी क्याम्पसमा पहिलो पटक स्नातकोत्तर तहको पढाइ सुरु गरिएको छ। यस वर्षदेखि शैक्षिक योजना तथा व्यवस्थापन विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा आएको क्याम्पसले जनाएको छ।
वि।सं। २०६४ सालमा सामुदायिक क्याम्पसका रूपमा सम्बन्धन प्राप्त गरेको उक्त क्याम्पस वि.स.२०७५ सालमा मध्यपश्चिम विश्वविद्यालय, सुर्खेतबाट आङ्गिक भएको थियो। लामो समयदेखि स्नातक तहसम्म मात्र अध्ययन हुँदै आएको क्याम्पसमा अब स्नातकोत्तर तहको पढाइ सुरु भएसँगै जिल्लामा उच्च शिक्षाको पहुँच विस्तार भएको छ।
क्याम्पसका उपप्राध्यापक सुशील कुमार भामका अनुसार ‘हाल १४६ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन्, जसमध्ये ८० जना विद्यार्थी भर्ना भएर पढाइ समेत सुरु भइसकेको छ।’ पढाइ सुरु भए सँगै उच्च तहको शिक्षा घर आँगनमै लिन पाउँदा मुगुका विद्यार्थी हरूलाई ठुलो राहात मिलेको छ
क्याम्पसका प्राध्यापक लालकेशर रोकायाले स्नातकोत्तर कार्यक्रमले स्थानीय स्तरमै गुणस्तरीय शैक्षिक नेतृत्व उत्पादन गर्ने विश्वास व्यक्त गर्नु भयो “दुर्गम जिल्लामा उच्च शिक्षाको पहुँच अभावका कारण धेरै विद्यार्थीले आफ्नो अध्ययन यात्रा बीचमै रोक्नुपर्ने अवस्था थियो ” उहाँले बताउनु भयो, “अब यहीँबाट सक्षम, दक्ष र जिम्मेवार शैक्षिक जनशक्ति उत्पादन गरी विद्यालय तथा समग्र समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छौँ।”
घर आँगनमै स्नातकोत्तर तहको पढाइ सुरु भएपछि विभिन्न कारणले उच्च शिक्षा लिनबाट वञ्चित भएका तथा अध्ययन बीचमै छोडेका विद्यार्थीहरूका लागि यो महत्वपूर्ण अवसर बनेको स्थानीयवासीले बताएका छन्।







प्रतिक्रिया राख्नुहोस्