तपाईँ सुन्दै हुनुहुन्छः

अव्यवस्थित बस्ती हटाइएका कारण प्रभावित कक्षा १२ का विद्यार्थीका लागि विशेष सहयोग कार्यक्रम

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले अव्यवस्थित बस्ती हटाइएका कारण प्रभावित भएका कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।

बोर्डले आज जारी गरेको सूचनामा अव्यवस्थित बस्ती खाली गराइएको स्थानबाट विस्थापित भई कक्षा १२ को परीक्षा दिइरहनुभएका विद्यार्थीलाई आवश्यक सहयोग, समन्वय तथा सहजीकरण प्रदान गर्न विशेष सहयोग कार्यक्रम उपयोगी हुने जनाइएको छ ।

विस्थापनका कारण परीक्षा तयारी र सहभागितामा समस्या भोगिरहेका विद्यार्थीहरूको पहिचान तथा सहयोगका लागि विवरण सङ्कलन सुरु गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यस्ता विद्यार्थीहरूले सामना गरिरहेका शैक्षिक मात्र नभई मनोवैज्ञानिक चुनौतीहरूलाई पनि ध्यानमा राखेर समन्वयात्मक सहयोग प्रदान गरिनेछ ।

सूचनामा प्रभावित विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई अनलाइन माध्यमबाट उपलब्ध फारम भरी आफ्नो अवस्थाबारे जानकारी गराउन आग्रह गरिएको छ ।

प्राप्त विवरणका आधारमा सम्बन्धित सरकारी निकाय तथा सहयोगी संस्थासँग सहकार्य गरी आवश्यक सहयोग, सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button