तपाईँ सुन्दै हुनुहुन्छः

सुकुम्वासी बस्तीका प्रभावित विद्यार्थीलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गरिने

भक्तपुर । सरकारले सुकुम्वासी बस्तीका प्रभावित विद्यार्थीलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बस्ती स्थान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणबारे जारी गर्नुभएको ६ सर्कुलर बमोजिम शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले परीक्षा व्यवस्थापन र समन्वय प्रभावकारी बनाउन स्थानीय तहलाई अनुरोध गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरण हुँदा विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित बस्तीमै रहेका विद्यालय समायोजन तथा समन्वयलाई प्रभावकारी बनाउन अनुरोध गरिएको विज्ञप्ति मार्फत जनाएको छ ।

केन्द्रका योजना तथा अनुगमन शाखा निर्देशक निलकण्ठ ढकालद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत केन्द्रले सुकुम्वासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न सहजीकरण सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

सरकारले जोखिमयुक्त तथा तथा सार्वजनिक जग्गामा रहेका अव्यवस्थित बस्तीहरूको व्यवस्थापन, संरक्षण तथा आवश्यकता अनुसार स्थानान्तरण गर्ने विषयलाई थप प्राथमिकतामा राखी कार्य प्रारम्भ गरेको सन्दर्भमा केन्द्रले विद्यार्थी स्थानान्तरण ,परीक्षा व्यवस्थापन ,तथा विद्यालय समायोजन सम्बन्धमा सहजीकरण गर्नका लागि सम्बन्धित सरोकारवाला सबैमा अनुरोध गरेको छ । 

स्थानान्तरण भएका बस्तीका विद्यार्थी विद्यालय पहुँच, नियमित उपस्थिति, शैक्षिक सामग्री, सुरक्षित वातावरण लगायतका आधारभूत सुविधाबाट वञ्चित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विद्यार्थीहरूको पठनपाठन कार्य नियमित र प्रभावकारी रुपमा सञ्चालन गर्न सहजीकरण गर्न गराउन समेत अनुरोध गरेको छ ।

सुकुम्वासी बस्तीका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित अन्य कुनै गुनासो, समस्या या सुझाव भए पनि केन्द्रमा पठाउन स्थानीय तहहरूलाई केन्द्रले अनुरोध गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button