गमगढी–नाक्चेलाग्ना सडक निर्माणले तीव्रता पायो, माङ्ग्री भिरमा ब्लास्टिङ सुरु
मुगु। उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक खण्डमा निर्माण कार्यले नयाँ गति लिएको छ।
मिति २०८३ वैशाख १३ गतेदेखि मुगु जिल्लाको माङ्ग्री भिर क्षेत्रमा औपचारिक रूपमा ब्लास्टिङ कार्य सुरु गरिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।
दुर्गम भौगोलिक अवस्था, जोखिमपूर्ण भिर तथा सीमित स्रोत–साधनका बाबजुद पनि विकासलाई अगाडि बढाउने लक्ष्यसहित यो महत्वपूर्ण काम अघि बढाइएको हो। लामो समयसम्म प्रक्रिया पूरा गर्नुपर्ने कारणले ढिलाइ भएको सडक निर्माणको काम आज बाट ब्लास्टिङ कार्य सुरु भएसँगै अब सडक निर्माणले तीव्रता लिने विश्वास गरिएको छ। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराका अनुसार अब सडक निर्माणको कामले तीव्रता पाउने छ । यस अघि अत्यन्तै सुस्त गतिमा निर्माण भइरहने यस सडक धेरै लामो समयमा पनि गमगढीदेखि मुगुम कार्मारोङ गाउँपालिकाको माङ्ग्री भिरसम्म करिब १८ किलोमिटर ट्रयाक खोलिएको छ ।
हाल करान भेगका स्थानीयहरू गमगढीदेखि छाईल बगरसम्म सवारी साधन प्रयोग गर्ने भए पनि त्यसपछि भने पैदल हिँड्न बाध्य छन्। दैनिक उपभोग्य सामानदेखि अत्यावश्यक सामग्रीसम्म भारी बोकेर लैजानुपर्ने अवस्था कायमै छ, जसले स्थानीय जनजीवन कष्टकर बनाएको छ।
निर्माणाधीन सडक सम्पन्न भएमा यो समस्या अन्त्य हुने र सहज आवागमनको व्यवस्था हुने स्थानीयको अपेक्षा छ। सडक सञ्चालनमा आएपछि करान क्षेत्रका बासिन्दाले भोग्दै आएको वर्षौंदेखिको सास्ती हट्ने, ढुवानी खर्च घट्ने तथा शिक्षा, स्वास्थ्य र व्यापारमा सहज पहुँच पुग्ने विश्वास गरिएको छ।
उक्त सडक निर्माणको जिम्मा जागृति–रारा तेन्जिन–नोर्याङ जेभी निर्माण कम्पनीले लिएको छ। कम्पनीसँग २०८४ असारसम्म ६ किलोमिटर सडक निर्माण सम्पन्न गर्ने सम्झौता भएको डिभिजन प्रमुख महताराले बताए ।ब्लास्टिङका कारण केही समय आवागमन प्रभावित हुन सक्ने भएकाले यस क्षेत्र हुँदै यात्रा गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।
जम्मा ९३ किलो मिटर लम्वाई रहेको यस सडक सम्पन्न भएपछि मुगु जिल्लाको दुर्गम करान क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्