तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली करिडोरमा स्काभेटर दुर्घटना १८ वर्षीय युवक बेपत्ता, उद्धारमा चुनौती

बाजुरा । कर्णाली करिडोर सडकखण्डअन्तर्गत बाजुरा–कालिकोट सीमास्थित लौखूडाँडामा आइतबार बिहान स्काभेटर दुर्घटना हुँदा एक युवक बेपत्ता भएका छन् । 

नयाँ सडक निर्माणका क्रममा थुप्रिएको माटो हटाउन जाँदै गरेको स्काभेटर करिब २ सय मिटर तल भीरमा खस्दा उक्त घटना भएको हो। दुर्घटनामा परेका एक्स्काभेटर चालकसहित तीन जना सवार थिए। तीमध्ये चालक र सहचालक सकुशल रहेका छन् भने कालिकोट नरहरीनाथ गाउँपालिका–२ का अन्दाजी १८ वर्षीय महेश रावल बेपत्ता भएको प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीका अनुसार प्रदेश ३–०१–००३ क ६३११ नम्बरको स्काभेटर चालक अन्दाजी २५ वर्षीय केशब बिष्टले चलाएका थिए। नयाँ निर्माण भइरहेको लौखु जिरो पोइन्ट–कोल्टी सडकबाट खसेको माटो कर्णाली करिडोरमा थुप्रिएर सडक अवरुद्ध भएको थियो। सोही माटो पन्छाउन जाने क्रममा स्काभेटर दुर्घटनामा परेको हो।

बेपत्ता रावलको खोजीका लागि नेपाल प्रहरी र नेपाली सेना घटनास्थलमा पुगे पनि भीर अत्यन्तै कठिन र जोखिमपूर्ण भएकाले उद्धार कार्यमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button