तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा अतिक्रमित जग्गा हटाउन सूचना दिएको १८ घण्टामै चल्यो डोजर

रुपन्देही । बुटवलमा सरकारी जग्गा अतिक्रमण गरेर बसेको बस्ती खाली गर्न डोजर चलाइएको छ । सो जग्गा खाली गर्न शनिबार राती मात्र माइकिङमार्फत सूचना गरिएपछि स्थानीयवासीले समान हटाउन थालेका थिए तर आजै डोजर चलाइएको छ । 

नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरी सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि डोजर चलाइएको हो। उच्च अदालत बुटवलमा स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा खाली गराउन सूचना जारी गरेसँगै घरटहरा आफैँ खाली गर्न थालेका थिए । बुटवल उपमहानगरपालिकाले हिजो साँझ माइकिङ गर्दै अतिक्रमण टहरा हटाउन सूचना जारी गरेपछि स्थानीयले आफैँ जग्गा खाली गराउन थालेपनि काम नसकाउँदै डोजर हालेको भन्दै उनीहरू आक्रोशित भएका छन्  । केहीले गएराति नै सामानहरू सारेका थिए।

बुटवल उपमहानगरपालिका– ४ मा पर्ने उच्च अदालत तुलसीपुर इजलास बुटवल अगाडि सरकारी जग्गामा अतिक्रमण गरेर बसेको बस्ती खाली गर्न सुरु भएको हो । आज बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ।

बिहानैदेखि त्यहाँ बनेका आधा दर्जन टहराधनीले सामान अन्यत्र सार्न थालेका थिए । यहाँ करिब  दुई दर्जन घर–टहरा छन्। तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुलसीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साविक कित्ता नं ३९६ मा बनाइएका संरचना हटाउन लागिएको हो ।

बुटवल उपमहानगरपालिका साबिक वडा नं. ६ हाल वडा नम्बर ४ अन्तर्गत पर्ने  करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा बनेका घरटहरा हटाउन उपमहानगरले सार्वजनिक सूचना जारी गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी निशान्त श्रीवास्तवले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि डोजर चलाउन सुरु भएको जानकारी  दिनुभयो । 

स्थानीय भक्त बस्नेतले सरकारले नै दिएको जग्गामा तीन दशकदेखि बसेको मान्छेलाई २४ घण्टाभन्दा कम सूचना दिएर संरचना भत्काइएको जनाउनुभयो । उहाँले हिजै राती सूचना सुनेर बिहानैबाट आफै हटाउन थालेपनि अनाहकमा डोजर हानेर संरचना सार्न नपाएको बताउनुभयो । म सरकारले नै दिएर संरचना बनाएर बसेको हो, दमननाथ ढुङ्गाना, पद्मरत्न तुलाधरको आयोगले ०४८ सालमा गोली लागेर गम्भीर घाइतेपछि दिन सिफारिसका आधारमा सरकारले दिएर बसेको मान्छे हो तर यसरी अपराधीलाई जस्तो गरेर लखेटियो, उहाँको गुनासो थियो । यो कित्तामा २६ वटा घर रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button