तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा हुलाक सेवामार्फत घरमै राहदानी पुर्‍याउने तयारी 

धनकुटा । धनकुटाका सर्वसाधारणका लागि अब राहदानी सेवा झन् सहज हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालय धनकुटाले हुलाक सेवामार्फत घरमै राहदानी पुर्‍याउने नयाँ सेवा सुरु गरेको छ । 

जिल्ला प्रशासन कार्यालय धनकुटा र जिल्ला हुलाक कार्यालय धनकुटाबीच शुक्रबार सहमति भएपछि अब सेवाग्राहीले घरमै राहदानी पाउने भएका छन् । सरकारी सेवालाई सहज, छरितो र पहुँचयोग्य बनाउन यो सेवा सुरु गरिएको हो । 

नेपाल सरकारको १ सय प्रतिबद्धताको २७ नम्बरमा घरघरमै राहदानी, लाइसेन्स र नागरिकता पुर्‍याउने नीति अनुरुप काम गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो ।

घरमै राहदानी लिन चाहने सेवाग्राहीले आवेदन दिँदा थप विवरणसहितको फारम भर्नुपर्नेछ । यसका लागि ५० रुपैयाँ दस्तुर लाग्नेछ । फारममा पूर्ण ठेगाना, नजिकका चिनारी स्थल, सम्पर्क नम्बर लगायत विवरण उल्लेख गर्नुपर्नेछ । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटाका ६० वटै वडामा यो सेवा विस्तार गरिने जनाइएको छ । यसले विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । यो सेवाले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट कम गर्नुका साथै समय र खर्च बचत हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button