सरकारसँग रौतहटवासीको अपेक्षा : ‘श्रीराम सुगर मिल्स पुनः सञ्चालन गरियोस्’
रौतहट । रौतहटवासीले लामो समयदेखि बन्द रहेको श्रीराम सुगर मिल्स पुनः सञ्चालन गर्न माग गरेका छन् ।
जिल्लाको गरुडा नगरपालिका–५, महम्मदपुरस्थित उक्त चिनी उद्योग सञ्चालनमा आए हजारौँ किसान र श्रमिकको जीवनयापनमा सुधार आउने स्थानीयको विश्वास छ । २०४९ सालमा उद्योगपति दिवाकर गोल्छाद्वारा स्थापना गरिएको यो मिल एक समय मधेसकै प्रमुख औद्योगिक केन्द्रका रुपमा परिचित थियो ।

अत्याधुनिक प्रविधिसहित सञ्चालनमा रहेको मिलले दैनिक ठूलो परिमाणमा उखु प्रशोधन गर्दै रौतहट, बारा र सर्लाहीका किसानलाई भरपर्दो बजार उपलब्ध गराएको थियो ।
उद्योग सञ्चालनमा हुँदा प्रत्यक्ष रुपमा एक हजारभन्दा बढीले रोजगारी पाएका थिए भने अप्रत्यक्ष रुपमा हजारौँ व्यक्ति ढुवानी, व्यापार तथा कृषि क्षेत्रमा निर्भर थिए । तर २०७७ साउन ११ गते सञ्चालक समितिले घाटा देखाउँदै मिल स्थायी रुपमा बन्द गरेको घोषणा गरेपछि जिल्लाको आर्थिक गतिविधिमा उल्लेखनीय गिरावट आएको छ ।
मिल बन्द भएपछि करिब १८ हजार उखु किसान प्रभावित भएका छन् । झण्डै १५ हजार बिघा क्षेत्रफलमा हुने उखु खेती घट्दै गएको छ भने वार्षिक सवा दुई अर्ब रुपैयाँ बराबरको आम्दानी गुमेको किसानहरूको भनाइ छ । यसले किसानको आर्थिक अवस्था कमजोर हुनुका साथै वैकल्पिक आयस्रोत समेत प्रभावित भएको छ ।
लामो समयदेखि सुगर मिल्स सञ्चालनमा नआएका कारण मिसिन लगायतका उपकरणहरूमा खिया लाग्न थालेको छ ।
स्थानीय नेता रामाशंकर महतोले चिनी मिल बन्द हुँदा किसान, मजदुर तथा व्यवसायी सबैको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको बताउनुभयो । उहाँका अनुसार मिल पुनः सञ्चालन भए रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्र पुनः चलायमान हुनेछ ।

त्यसैगरी किसान अगुवा राजकुमार दासले नगदे बालीका रुपमा रहेको उखु खेती घट्दा किसानको आयस्रोत सुक्दै गएको उल्लेख गर्दै सरकारलाई मिल सञ्चालनतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
स्थानीय किसान रामनाथ साहले सरकार र मिल सञ्चालकबीच सहमति गरी उद्योग पुनः सञ्चालन गरिए हजारौँ बेरोजगारले रोजगारी पाउने र स्वदेशमै चिनी उत्पादन बढेर आयातमा निर्भरता घट्ने विश्वास व्यक्त गर्नुभयो । महिला किसान आशा देवीले पनि मिल बन्द हुँदा आफ्नो परिवारको आयस्रोत पूर्ण रुपमा प्रभावित भएको बताउँदै पुनः सञ्चालनको माग गर्नुभयो ।
यता उखु उत्पादक संघ रौतहटले मिल बन्द गर्ने निर्णयमा किसान तथा सरोकारवालासँग परामर्श नगरिएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।
प्रारम्भिक वर्षहरुमा मुनाफामा सञ्चालन भएको उद्योग पछि व्यवस्थापन कमजोर बन्दै जाँदा घाटामा गएको थियो । आर्थिक वर्ष २०७५/७६ सम्म आइपुग्दा मिलको कुल घाटा २ अर्ब १७ करोड रुपैयाँभन्दा बढी पुगेको तथ्याङ्क छ ।
करिब ७४ बिघा क्षेत्रफलमा फैलिएको उद्योगको जग्गा हाल उच्च मूल्यमा पुगेको छ । तीमध्ये १० बिघा जग्गा मुख्य बजार र सडकसँग जोडिएको छ, जसको चलनचल्तीको मूल्य अत्यन्त उच्च रहेको स्थानीय बताउँछन् । स्थानीयवासीले औद्योगिक पुनरुत्थानमार्फत रोजगारी सिर्जना, कृषि उत्पादनको संरक्षण र समग्र आर्थिक विकासका लागि सरकारको ठोस पहल आवश्यक रहेकोमा जोड दिएका छन् ।
जिल्लामा रहेको चिनी मिल बन्द भएपछि रौतहटमा उखु खेती गर्ने किसानहरूको संख्या समेत घट्दै गएको उखु उत्पादक संघ रौतहटले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्