तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा दामोदर खनाल नियुक्त

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाल नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

मकवानपुरको बकैया गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहनुभएको खनाल नेपाली कांग्रेसका मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ का संघीय सभापति हुनुहुन्छ ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रभात तामाङका अनुसार बैठकले बागमती प्रदेश विश्वविद्यालयको संरक्षक सदस्यमा डा. प्रेमनारायण अर्याललाई नियुक्त गरेको छ। त्यसैगरी सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोक श्रेष्ठलाई मनोनयन गरिएको छ।

बैठकले सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव खुबीराम अधिकारीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि उक्त मन्त्रालय सम्हाल्दै आएका बाबुराम पुरीलाई सो जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सीमित गरिएको छ।

त्यसैगरी नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शंखबुद्ध लामा नियुक्त हुनुभएको छ । बैठकले स्वास्थ्य सेवाका डा. अर्जुनप्रसाद सापकोटाको राजीनामा स्वीकृत गरेको छ भने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी दामोदर केसी को स्वास्थ्यका कारण दिएको राजीनामा माघ ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ।

मन्त्री तामाङका अनुसार बैठकले जेनजी आन्दोलनका क्रममा क्षति भएका कार्यसम्पादन मूल्याङ्कन व्यवस्थापनका लागि नयाँ नीति पारित गरेको छ। साथै गरिबी निवारण नीति २०८२ र शैक्षिक छात्रवृत्ति निर्देशिका २०८३ लाई स्वीकृति दिइएको छ।

यसैबीच बैठकले प्रदेश पर्यटन (पहिलो संशोधन) ऐन २०८२ र प्रदेश राष्ट्रिय वन ऐन (पहिलो संशोधन) २०८३ लाई प्रदेश सभामा पेस गर्न स्वीकृति दिएको छ। साथै त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति (पहिलो संशोधन) गठन आदेश २०८२ तथा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्थानीय तहलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानसम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button