इलाममा बर्ड फ्लु नियन्त्रणका लागि कडा निर्देशन, ओसारपसारमा रोक

इलाम । इलाम जिल्लामा बर्ड फ्लु रोगको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय इलामले नियन्त्रण तथा रोकथामका लागि कडा कदम अघि बढाएको छ।
जिल्ला बर्ड फ्लु नियन्त्रण समितिको निर्णयअनुसार कुखुरा तथा कुखुराजन्य पदार्थको अनियन्त्रित ओसारपसार र बजारमा बिक्री वितरणलाई नियमन गर्न विशेष सूचना जारी गरिएको हो। प्रशासनले अन्य जिल्लाबाट कुखुरा र मासु ल्याउने कार्यमा रोक लगाएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अण्डा र चल्लाको हकमा भने रोग नदेखिएका जिल्ला—झापा, मोरङ र सुनसरीबाट मात्रै ल्याउन पाइने उल्लेख गरिएको छ। त्यसका लागि अनिवार्य रूपमा सम्बन्धित निकायबाट स्वास्थ्य परीक्षण गरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरिएको छ।त्यस्तै, कुखुराको दानाको हकमा आवश्यक मापदण्ड पूरा गरी जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामसँग समन्वय गरेर मात्रै ओसारपसार गर्न पाइने जनाइएको छ।
जिल्लामा रहेका कुखुरा व्यवसायीहरूले आफ्नो उत्पादन, बिक्री तथा स्टकको विवरण नियमित रूपमा अद्यावधिक गरी २४ घण्टाभित्र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। साथै उक्त विवरण जिल्ला प्रशासन कार्यालयलाई पनि उपलब्ध गराउनुपर्नेछ।
बर्ड फ्लु नियन्त्रणका लागि कुखुरा व्यवसायी संघका प्रतिनिधिहरूको सहभागितामा अनुगमनलाई तीव्र बनाइने र सोको प्रतिवेदन जिल्ला बर्ड फ्लु नियन्त्रण समितिमा पेश गरिने प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्लामा बर्ड फ्लु नियन्त्रणका लागि सबै निकायबीच समन्वय गरेर कडाइका साथ नियम कार्यान्वयन गरिने जानकारी दिनुभयो। उहाँले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण, व्यवसायी तथा सरोकारवाला सबैलाई सतर्क रहन र प्रशासनले जारी गरेका मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गर्नुभयो।






प्रतिक्रिया राख्नुहोस्