इलाम गोल्डकप : मच्छिन्द्र ५–२ ले पाथरी ११ लाई हराउँदै फाइनलमा प्रवेश
इलाम । इलाममा जारी तेस्रो इलाम गोल्डकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँले पाथरी ११ एफसीलाई ५–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलको १२औँ मिनेटमा मिलन चाम्लिङ राईले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि पाथरी ११ का मौसम लिम्बुले १६औँ मिनेटमा बराबरी गोल फर्काए। ३०औँ मिनेटमा मिलन चाम्लिङ राईले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए।
मध्यान्तरपछि मच्छिन्द्रले आक्रामक खेल प्रस्तुत गर्दै थप गोलहरू थप्यो। दुरान लिम्बु, अविनाश स्याङ्तान र स्याम मुर्मुले एक–एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे। पाथरी ११ का तर्फबाट सुजन डङ्गोलले थप एक गोल गरे पनि टोलीलाई हारबाट बचाउन सकेन।
खेलको म्यान अफ दि म्याच मच्छिन्द्र फुटबल क्लबका मिलन चाम्लिङ राई घोषित भएका छन्।
यस जितसँगै मच्छिन्द्र फुटबल क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। अब बिहीबार हुने दोस्रो सेमिफाइनलमा न्युरोड टिम (NRT) काठमाडौँ र रोलिङ क्लब धुलाबारी झापा बीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ, जहाँ विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।








प्रतिक्रिया राख्नुहोस्