तपाईँ सुन्दै हुनुहुन्छः

डीपीआर संशोधनपछि नौबस्ता औद्योगिक क्षेत्र निर्माणले गति लिने अपेक्षा

बाँके । लामो समयसम्म घोषणामै सीमित रहेको बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता औद्योगिक क्षेत्र अब व्यवहारमै रूपान्तरण हुने सङ्केत देखिएको छ। नयाँ सरकार गठनसँगै परियोजनाको डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) संशोधन प्रक्रिया अघि बढाइएपछि निर्माण कार्यले गति लिने अपेक्षा गरिएको हो ।

नेपाल सरकारअन्तर्गत औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभरका औद्योगिक क्षेत्रहरू एकैसाथ अघि बढाउने रणनीतिअनुसार नौबस्ताको डीपीआर परिमार्जन प्रक्रिया सुरु गरेको जनाएको छ । यसअघि २०७५ सालमै स्वीकृत डीपीआरमा करिब आठ अर्ब लागत अनुमान गरिए पनि कार्यान्वयनमा ढिलाइ हुँदा आयोजना अन्योलमा परेको थियो ।

संशोधित डीपीआरमार्फत निर्माण मोडालिटी, प्रक्रिया र आवश्यक पूर्वाधारलाई स्पष्ट पार्दै परियोजनालाई कार्यान्वयन चरणमा लैजाने तयारी गरिएको लिमिटेडका निर्देशक सञ्जयलाल मानन्धरले जानकारी दिनु भयो । उहाँका अनुसार अब सरकारले एकमुष्ट रूपमा औद्योगिक क्षेत्र निर्माण अघि बढाउने विषयमा ठोस निर्णय लिनेछ ।

औद्योगिक क्षेत्रभित्र सडक, ढल, विद्युत् सवस्टेसन, पानी आपूर्ति तथा फोहोरमैला व्यवस्थापनजस्ता आधारभूत पूर्वाधार निर्माण गर्ने योजना छ। सुरुमा ५२५ बिघामा प्रस्तावित क्षेत्र अहिले ३३८ बिघामा सीमित गरिएको छ भने बस्ती व्यवस्थापनका लागि ५५।६ बिघा छुट्टाइएको छ ।

परियोजना कार्यान्वयनमा सबैभन्दा ठूलो अवरोधको रूपमा रहेको बस्ती व्यवस्थापन प्रक्रिया पनि अब अन्तिम चरणमा पुगेको छ। औद्योगिक क्षेत्रभित्र रहेका संरचनाहरू हटाउने कार्य भइरहेको छ भने बाँकी रहेका केही घरहरू समेत चालु आर्थिक वर्षभित्र व्यवस्थापन गरिने तयारी गरिएको छ।

नयाँ सरकारको सक्रियतासँगै स्थानीय तह र निजी क्षेत्र दुवै पक्ष उत्साहित देखिएका छन्। बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले आयोजना अघि बढेमा स्थानीय विकासमा ऐतिहासिक उपलब्धि हुने बताउनु भयो । उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले रोजगारी सिर्जनाका लागि यस्तो परियोजना तत्काल सुरु गर्नुपर्नेमा जोड दिनु भयो ।

लामो प्रतीक्षापछि नौबस्ता औद्योगिक क्षेत्रले अब गति लिने सङ्केत देखिएको छ। यदि योजना कार्यान्वयनमा रूपान्तरण भयो भने यसले बाँके मात्र नभई समग्र लुम्बिनी प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button