बढ्दो आगलागी जोखिममा उदयपुर: ६ वर्षमा ३६ करोडभन्दा बढी क्षति
उदयपुर । उदयपुर जिल्लामा पछिल्लो ६ वर्षको अवधिमा आगलागीका घटना निरन्तर बढ्दो क्रममा देखिएका छन् । यस अवधिमा आगलागीबाट पाँच जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार ३६ करोड ६८ लाख १६ हजार रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । पछिल्लो समय बजार क्षेत्रदेखि ग्रामीण बस्ती र सामुदायिक वनसम्म आगलागीको जोखिम बढ्दै जाँदा जनधनको सुरक्षामा चुनौती थपिएको देखिएको छ ।

यसैबीच, गएको मङ्गलवार राति चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारस्थित वाणिज्य बैङ्क लाइनमा भएको आगलागीले फेरि एकपटक जिल्लामा आगलागी जोखिमको गम्भीरता उजागर गरेको छ । उक्त घटनामा ७० वर्षीय लक्ष्मीनारायण खड्का र उनका नाति पवन खड्काको जलेर मृत्यु भएको थियो । रातिको समयमा घरभित्रै रहेका उनीहरू आगोले चारैतिरबाट घेरेपछि बाहिर निस्कन नपाई ज्यान गुमाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
प्रहरीका अनुसार आगलागी विद्युत् सर्टका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ । काठबाट बनेका घर भएकाले आगो तीव्र रूपमा फैलिएको थियो । घटनामा पदम खड्काको घरसहित दुईवटा खसी जलेर करिब ३१ लाख रुपैयाँ बराबरको क्षति भएको छ । साथै छिमेकी रविनकुमार दासको काठको घर तथा किराना पसलमा करिब २० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । सोही भवनमा सञ्चालित मित्र थापामगरको स्टेसनरी पसलमा करिब ६ लाख रुपैयाँ, होमबहादुर परियारको ट्रेलरमा करिब २ लाख रुपैयाँ तथा मैया पौडेलको चटपटे पसलसहित अन्य सामग्रीमा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ । कुल क्षति करिब ६३ लाख रुपैयाँ पुगेको छ ।
वर्षेनि बढ्दो आगलागीका घटना:
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख ८ गतेसम्म मात्रै ७७ स्थानमा आगलागी भएका छन् । यस अवधिमा दुई जनाको मृत्यु भएको छ भने ३ करोड २७ लाख ७१ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा ८६ स्थानमा आगलागी हुँदा सात जना घाइते भएका थिए र ५ करोड ७८ लाख ८७ हजार २०० रुपैयाँ बराबरको क्षति भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा १३६ स्थानमा आगलागी हुँदा नौ जना घाइते भएका थिए भने ९ करोड ३९ लाख ४७ हजार ८०० रुपैयाँ बराबरको क्षति भएको थियो ।
आर्थिक वर्ष २०७९/०८० मा १२८ स्थानमा आगलागी हुँदा दुई जनाको मृत्यु र चार जना घाइते भएका थिए । उक्त वर्ष मात्रै ९ करोड ५० लाख ८२ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा ९१ स्थानमा आगलागी हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका थिए भने ३ करोड ३० लाख ५३ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ४८ स्थानमा आगलागी हुँदा तीन जना घाइते भएका थिए र १ करोड ६ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।
५५६ घरगोठ जले, हजारौँ पशुचौपायाको क्षतिः
प्रहरीका अनुसार पछिल्लो ६ वर्षमा आगलागीबाट ५५६ वटा घर तथा गोठ जलेका छन् । यस अवधिमा ३ हजार ७३२ पशुचौपाय तथा पँक्षीसमेत मरेका छन् । ग्रामीण क्षेत्रमा घरसँगै जोडिएका गोठ भएकाले आगलागी हुँदा पशुधनमा ठूलो क्षति हुने गरेको देखिएको छ ।
साथै सामुदायिक वन क्षेत्रमा हुने डढेलोले पनि बस्ती आसपासको जोखिम बढाउने गरेको छ । यसले वातावरणीय क्षतिसँगै स्थानीय जनजीवनमा थप जोखिम सिर्जना गरेको छ ।
सुख्खा मौसममा जोखिम झन् बढी:
प्रहरीका अनुसार माघदेखि जेठसम्मको सुख्खा मौसममा आगलागीका घटना बढी हुने गरेका छन् । विशेषगरी असुरक्षित विद्युत् तार, ग्यास प्रयोगमा लापरवाही, खुला आगो, वन डढेलो तथा मानवीय असावधानी आगलागीका प्रमुख कारणका रूपमा देखिएका छन् ।
जिल्लाका धेरैजसो ग्रामीण बस्तीमा ढुङ्गा, माटो र काठबाट बनेका घर बढी भएकाले आगो छिटो फैलिने जोखिम उच्च रहेको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वय बढाउनु आवश्यक देखिएको छ ।
उदयपुरमा दमकलको अवस्था:
उदयपुर जिल्लामा चार नगरपालिका र चार गाउँपालिका रहेका छन् । जिल्लाभर हाल पाँच वटा दमकल सञ्चालनमा रहेका छन् । तीमध्ये चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिका मा एक–एक वटा दमकल सञ्चालनमा छन् ।
त्यसैगरी जिल्लामा चार वटा पानी ट्याङ्कर पनि उपलब्ध रहेका छन् । आगलागीका घटनाका बेला आवश्यक परेमा ती पानी ट्यांकरसमेत दमकलसँगै प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालय उदयपुर का सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेय ले जानकारी दिनुभयो ।
यद्यपि जिल्लामा पाँच वटा दमकल सञ्चालनमा भए पनि आगलागीका बेला आवश्यक समन्वय अभाव, घटनास्थलसम्म पुग्न लाग्ने समय ढिलाइ तथा दमकलमा पानी सकिएपछि टाढाबाट पुनः पानी भर्नुपर्ने बाध्यताका कारण कहिलेकाहीँ आगलागीबाट ठूलो क्षति हुने गरेको स्थानीय तिर्थ थापा ले बताउनुभयो ।
सचेतना र पूर्व तयारीको खाँचो:
पछिल्ला घटनाक्रमले उदयपुरमा आगलागी नियन्त्रणका लागि पूर्वतयारी, दमकल पहुँच विस्तार, सुरक्षित विद्युत् संरचना तथा जनचेतना अभिवृद्धि अपरिहार्य भएको सङ्केत गरेको छ । अन्यथा हरेक वर्ष दोहोरिने आगलागीका घटनाले जनधनको क्षति अझ बढ्दै जाने चिन्ता स्थानीयवासीले व्यक्त गर्न थालेका छन् ।







प्रतिक्रिया राख्नुहोस्