तपाईँ सुन्दै हुनुहुन्छः

संघर्षदेखि सफलतासम्म वर्षा सुनारको प्रेरणादायी यात्रा

बर्दिया। बर्दियाको मधुवन नगरपालिका–५, रातामाटेकी ३९ वर्षीया वर्षा सुनार आज एक सफल उद्यमीका रूपमा परिचित हुनुहुन्छ। सामान्य गाउँकी महिलाबाट आत्मनिर्भर व्यवसायी बन्ने उहाँको यात्रा संघर्ष, आत्मविश्वास र दृढ इच्छाशक्तिको प्रेरणादायी कथा बनेको छ।

सीमित शिक्षा, आर्थिक अभाव र सामाजिक चुनौतीहरूका बीच पनि उहाँले आफूलाई कहिल्यै कमजोर ठान्नुभएन। बरु, ती चुनौतीहरूलाई अवसरमा परिणत गर्दै आज उहाँ आफू मात्र नभई अरूलाई समेत रोजगारी दिन सक्ने अवस्थामा पुग्नुभएको छ।

वर्षा सुनारको औपचारिक शिक्षा कक्षा ९ सम्म मात्र सीमित रह्यो। तर उहाँले सिकाइलाई कहिल्यै रोक्नुभएन। उहाँले सीटीईभीटीबाट ४५ दिने सिलाई तालिम लिएर लेभल–२ उत्तीर्ण गर्नुभयो, जसले उहाँको जीवनमा नयाँ मोड ल्यायो।

उहाँको व्यवसायिक यात्रा २०६५÷०६६ सालतिर गाउँमै एउटा सानो सिलाई मेसिनबाट सुरु भयो। सुरुका दिनहरू सहज थिएनन्—ग्राहक सीमित, आम्दानी न्यून। तर उहाँले हार मान्नुभएन। आफ्नो सीप र मेहनतका कारण बिस्तारै गाउँलेहरूको विश्वास जित्दै ग्राहक संख्या बढाउँदै लानुभयो।

वर्षौंसम्म गाउँमै पसल सञ्चालन गर्नुभएकी वर्षाको जीवनमा करिब तीन वर्षअघि एउटा महत्वपूर्ण मोड आयो—दलित महिलाहरूका लागि उपलब्ध ३५ हजार रुपैयाँ अनुदान। सानो रकम भए पनि यसले उहाँलाई ठूलो आत्मविश्वास दियो।

उहाँ भन्नुहुन्छ, “त्यो अनुदानले मलाई आर्थिकभन्दा बढी मानसिक हौसला दियो। अब म अझ ठूलो कदम चाल्न सक्छु भन्ने विश्वास आयो।”

त्यसपछि उहाँले गाउँबाट बजारमा पसल सार्ने साहसिक निर्णय गर्नुभयो। नयाँ स्थान, प्रतिस्पर्धा र खर्चका चुनौतीहरूका बाबजुद उहाँले आफ्नो आत्मविश्वासमा भरोसा राख्नुभयो। बजारमा पसल सञ्चालन गरेपछि उहाँको व्यवसायले तीव्र गति लिन थाल्यो।

हाल उहाँ आफ्नो पसलमा ४–५ जनालाई रोजगारी दिइरहनुभइरहेकोछ । एउटा सानो मेसिनबाट सुरु भएको यात्रा आज ७ वटा मेसिनसहित सानो उद्योगमा परिणत भएको छ। उहाँको मासिक आम्दानी ३० देखि ३५ हजार रुपैयाँसम्म पुगेको छ, जसले उहाँको परिवारको सम्पूर्ण खर्च धानिरहेको छ।

उहाँ गर्वका साथ भन्नुहुन्छ, “आज मेरो पसलले नै घर चलाएको छ। यही कमाइले मैले छोराछोरीलाई पढाएको छु।”

उहाँका एक छोरा र एक छोरी काठमाडौंमा अध्ययनरत हुनुहुन्छ। शिक्षामा लगानी गर्नु भविष्य निर्माणको आधार हो भन्ने उहाँको विश्वास छ। साथै, उहाँले छोरीलाई जापान पठाउन पनि सफल हुनुभएको छ, जसका लागि उहाँले आफ्नो कमाइसँगै केही ऋणसमेत लिनुभएको थयिो। उहाँका श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी अरबमा हुनुहुन्छ, जसबाट प्राप्त आम्दानीले ऋण तिर्न सहयोग पुगेको छ।

वर्षाको सफलतामा परिवारको साथ र सहयोग महत्वपूर्ण रहेको छ। उहाँ भन्नुहुन्छ, “यदि परिवारको साथ हुन्छ भने आफूले चाहेको लक्ष्य हासिल गर्न सकिन्छ।”

आज उहाँ केवल आफ्नै व्यवसायमा सीमित हुनुहुन्न। उहाँलाई विभिन्न नगरपालिका, वडा कार्यालय तथा संघसंस्थाहरूमा सिलाई तालिम दिनका लागि आमन्त्रण समेत गर्ने गरिन्छ। यसबाट उहाँले थप आम्दानी गर्नुका साथै धेरै महिलाहरूलाई सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गररिहनुभइरहेको छ।

उहाँ भन्नुहुन्छ “मैले धेरै जनालाई स्वरोजगार बनाएको छु, यही कुराले मलाई सबैभन्दा बढी खुशी दिन्छ।”

उहाँको आत्मविश्वास नै उहाँको सबैभन्दा ठूलो शक्ति हो। उहाँ दृढतापूर्वक भन्नुहुन्छ “ममा यति आत्मविश्वास छ कि म कसैबाट पनि डराउँदिन, चुनौतीलाई सामना गर्न सक्छु।”

वर्षा सुनारको कथा केवल व्यक्तिगत सफलताको उदाहरण मात्र होइन, सामाजिक परिवर्तनको सशक्त प्रतीक पनि हो। सीमित साधन, कम शिक्षा र अनेक कठिनाइका बाबजुद पनि दृढ इच्छाशक्ति र निरन्तर मेहनतले सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश उहाँले दिनुभएको छ।

दलित महिला सशक्तीकरणका कार्यक्रमहरूले बर्दियाका धेरै महिलाहरूलाई संकुचित दायराबाट बाहिर निकाल्दै आत्मनिर्भर बन्न सहयोग पुर्‍याएका छन्। वर्षा सुनार त्यसका एक जीवित उदाहरण हुनुहुन्छ। आज उहाँ परिवार र समाजमा पुरुषसरह जिम्मेवारी निर्वाह गर्दै अरूका लागि प्रेरणाको स्रोत बन्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button