तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय आकर्षणको केन्द्र बन्दै मुर्माटप

मुगु । कर्णाली प्रदेशको दुर्गम जिल्ला मुगुस्थित मुर्माटप पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख रोजाइ बन्दै गएको छ। समुद्री सतहबाट करिब ४,००० मिटर उचाइमा अवस्थित मुर्माटप प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र शान्त वातावरणका कारण विशेष आकर्षणको केन्द्र बनेको हो।

समुद्री सतहबाट करिब ३,६०० मिटर उचाइमा रहेको मुर्माटपबाट प्रसिद्ध रारा ताल, हिमश्रृंखला तथा जुम्ला, बाजुरा र हुम्ला जिल्लाका केही स्थानहरू अवलोकन गर्न सकिन्छ। साथै सुदूरपश्चिमको सैपाल हिमाल, हरियाली वनजंगल र विस्तृत भू–दृश्यले यहाँको सौन्दर्यलाई अझ आकर्षक बनाएको छ। यहाँ पुग्ने पर्यटकहरूले सूर्योदय र सूर्यास्तको अद्भुत दृश्यसँगै चिसो हावा र खुला आकाशको आनन्द लिने गरेका छन्। विशेषगरी नयाँ वर्ष, बिदाका समय तथा पर्यटकीय सिजनमा यहाँ पर्यटकहरूको चहलपहल उल्लेखनीय रूपमा बढ्ने गरेको छ।

स्थानीयका अनुसार मुर्माटप पुग्न केही घण्टाको पैदल यात्रा गर्नुपर्ने भए पनि बाटोभरि देखिने प्राकृतिक दृश्यले यात्रालाई सहज र रमाइलो बनाउँछ। पैदल यात्रा गर्न नसक्ने पर्यटकहरूका लागि घोडामार्फत पनि टपसम्म पुग्ने व्यवस्था छ। हिउँदमा हिउँले छपक्क ढाकिने र बर्खा ऋतुमा मात्र हिउँमुक्त हुने यो क्षेत्र पर्यटकका लागि अझ आकर्षक गन्तव्य बनेको छ।

रारा तालको भ्रमणपछि मुर्माटप नपुगेसम्म यात्रा अधुरो रहने विश्वास पनि यहाँ प्रचलित छ। यद्यपि, पूर्वाधार विकास अझै सीमित भए पनि यसको मौलिकता र प्राकृतिकपन नै मुख्य आकर्षणका रूपमा रहेका छन्।

पर्यटन प्रवर्द्धनका लागि स्थानीय तहले आवश्यक पूर्वाधार विकास, प्रभावकारी प्रचारप्रसार तथा व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ। मुर्माटप जस्ता गन्तव्यको उचित संरक्षण र प्रवर्द्धन गर्न सके मुगु जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button