तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीको प्रतापपुरमा आगलागी : १२ घर जलेर नष्ट

नवलपरासी पश्चिम् । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ मा भएको भीषण आगलागीमा १२ वटा घर जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय गोविन्द चमारको कच्ची घरबाट सुरु भएको आगो छिमेकका अन्य ११ घरमा फैलिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरीका डिएसपी वीरदत्त पन्तका अनुसार स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीमा रामसिंह कुर्मी, रामबहादुर कुर्मी, उमेश कुर्मी, नगिना हरिजन, भुटेल हरिजन, सन्तोष हरिजन, काशीलाल चमार, शिवशरण कुर्मी, सदिक मियाँ, किमन कुर्मी र अनुश कुर्मीका घर पूर्ण रूपमा जलेका छन्।

प्रारम्भिक अनुमान अनुसार करिब ४४ लाख ४८ हजार लाख रुपैयाँको बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको डिएसपी पन्तले रेडियो नेपाललाई जानकारी दिनुभयो। 

प्रहरीका अनुसार बिहान घर सरसफाइपछि फोहोर जलाउँदा लागेको आगो दिउँसो हावाका कारण फैलिएको प्रारम्भिक निष्कर्ष छ। प्रभावित परिवारहरू हाल आफन्त र गाउँलेको आश्रयमा बसिरहेका छन्।

यसैबीच, बर्दघाट नगरपालिका–२ आमवासस्थित ऋतुवर्ण सामुदायिक वनमा मङ्गलवार आगलागी भएको छ। चर्को गर्मी र हावाका कारण आगो फैलिँदै वन नजिकै रहेको मौरी रेस्टुरेन्ट एण्ड लजसम्म पुगेको थियो, जसबाट त्यहाँ सामान्य क्षति भएको जनाइएको छ।

प्रहरीले गर्मी याममा आगलागीका घटना बढ्न सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button