बाजुरा जिल्ला स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बाजुरा । बाजुरा जिल्ला स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि शुरु भएको छ। सदरमुकाम मार्तडीस्थित मालिका माध्यमिक विद्यालयमा प्रतियोगिताको उद्घाटन गरिएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद” भन्ने मूल नाराका साथ प्रतियोगिता शुरु गरिएको हो।

प्रतियोगिताको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले एक औपचारिक समारोहबीच उद्घाटन गर्नुभयो। त्यस अवसरमा उहाँले खेलकुदले अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने र ग्रामीण क्षेत्रमा लुकेका प्रतिभालाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो।
बडिमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाका अनुसार प्रतियोगितामा एथलेटिक्सतर्फका विभिन्न विधामा विद्यार्थीहरूबिच प्रतिस्पर्धा गराइनेछ।
प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने र विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा विद्यालयलाई ट्रफी र पुरस्कार प्रदान गरिने जिल्ला खेलकुद समिति बाजुरा अध्यक्ष कोपिला सिंहले बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्