तपाईँ सुन्दै हुनुहुन्छः

नाइजेरियन जोन क्लबले जित्यो प्रथम खजुरा गोल्डकपको उपाधि

नेपालगन्ज । प्रथम खजुरा गोल्डकपको उपाधि विदेशी टोली नाइजेरियन जोन क्लबले जितेको छ । 

आइतबार सम्पन्न फाइनल खेलमा अर्को विदेशी टोली जेविएम फुटबल एकेडेमी लखनउलाई ४–० गोल अन्तरले स्तब्ध पार्दै नाइजेरियन क्लब ‘एम्टी एरिना’ प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचाल्न सफल भएको हो । 

उपाधिसँगै नाइजेरियन टोलीले नगद ७ लाख हात पार्दा उपविजेता लखनउ टिमले नगद ४ लाखमै चित्त बुझायो । खजुरा–४ डि–गाउँस्थित मिनी रङ्गशालामा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

सबै गोल दोस्रो हाफको अन्तिम समयमा भएका थिए । नाइजेरियाको जितमा कलव कोनले दुई गोल गरे । यसैगरी एडवार्ड थोमस र ओलावी अफीजले एक एक गोल गरेका थिए । पहिलो हाफ निकै प्रतिष्पर्धात्मक भए पनि दोस्रो हाफको मध्यतिर नाइजेरियन टोली लखनउमाथि हाबी भएको थियो । प्रतियोगितामा नाइजेरियाका गोल रक्षक लेकन शितु, उत्कृष्ट रक्षक र म्यान अफ दि म्याच बिल्गो वी तथा एडवार्ड थोमस प्लेयर अफ दि पिस घोषित भए । 

यसैगरी जेविएम लखनउका क्षितिज मगर उत्कृष्ट मिडफिल्डर र फोर ब्रदर्श एफसी नवलपरासीका नवीन महतो सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट खेलाडीहरूलाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल लगायतले पुरस्कृत गरेका थिए ।  

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा चैत ३० गतेदेखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिता नकआउट आधारमा खेलाइएको हो । 

प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता रहेको प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले बताए ।

प्रतियोगिताका विजेता टिमले विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्यमा प्रदान गरिएको हो । वैदेशिक रोजगारीका सिलसिलामा हाल अमेरिकामा रहेका स्थानीय लिलबहादुर थापाले व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेको आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले बताए । 

प्रतियोगिताका सञ्चालनका लागि खजुरा गाउँपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद्, एम्टी एरिना लगायतले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button