तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच शिष्टाचार भेट

काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ ।
अन्तर व्यवस्थापिका संघ आइपियूको १५२ औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले टर्कीको संसदका सभामुख नुमान कुर्तुल्मुससँग शिष्टाचार भेट गर्नुभएको हो ।
भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको छ ।
भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत् दुई देशबीचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनु पर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीय मैत्री समूह गठनका लागि आफूहरु तयार रहेको बताउनुभयो ।
दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ६ दशकदेखि नै सौहार्द र आपसी सम्मानमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्नु आग्रह गर्नुभयो ।
अध्यक्ष दाहालले नेपाल र टर्कीबीच श्रम सम्झौता गर्नुका साथै नेपालमै टर्किस दूताबास स्थापना भए दुई देशबीचको सहकार्यमा थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
सो क्रममा टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसले राष्ट्रिय सभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधि मण्डललाई इस्तानबुलमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
टर्की र नेपालबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन आफूहरु सदैव तत्पर रहेको उल्लेख गर्दै सभामुख नुमानले नेपालमा टर्किको दूताबास खोल्न सकारात्मक रहेको बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
टर्किस सरकारले नेपालका लागि सीमित कोटाको शैक्षिक छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै सभामुख नुमानले छात्रवृत्तिको कोटा वृद्धि गर्ने र दुई देशबीचको व्यापार पनि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आगामी नोभेम्बरमा कोप ३१ टर्कीमा हुन लागेको उल्लेख गर्दै सभामुख नुमानले त्यसको नेतृत्वका लागि टर्कीलाई आवश्यक सहयोग गर्न अनुरोध पनि गर्नुभयो ।
जवाफमा अध्यक्ष दाहालले कोप ३१ को नेतृत्वका लागि शुभकामना दिदै नेपाल त्यसका लागि सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
भेटमा आइपियूमा सहभागी नेपाली संसदीय प्रतिनिधि मण्डलका सदस्यहरु पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button