हुड्केली र पञ्चेबाजा संरक्षणमा बाजुराका स्थानीय तह

बाजुरा। सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा प्रचलित मौलिक लोकनृत्य हुड्केली नाच पछिल्लो समय लोपोन्मुख बन्दै गएको छ।
युवा पुस्ताको घट्दो चासो, पेशागत असुरक्षा र आधुनिक जीवनशैलीको प्रभावका कारण यो सांस्कृतिक चलन सङ्कटमा परेको हो।
मार्तडीका हुड्के कलाकार जब्बरे सनाइका अनुसार करिब डेढ दशकअघि बाजुराका गाउँ–गाउँमा विवाह, व्रतबन्धजस्ता हरेक शुभकार्यमा हुड्केली नाच अनिवार्यजस्तै थियो। “अहिले भने फाटफुट बाहेक हुड्केली नाच देख्नै मुस्किल भएको छ।

पश्चिमी संस्कृतिको बढ्दो प्रभाव र आधुनिकताको नाममा मौलिक परम्परा ओझेलमा पर्दै गएको उहाँको भनाइ छ।
हुड्केली सँगै पञ्चेबाजासमेत पछिल्लो समय बिस्तारै लोप हुँदै गएको छ। परम्परागत सीप र पेशाबाट जीविकोपार्जन गर्न कठिन भएपछि नयाँ पुस्ता यसतर्फ आकर्षित हुन सकेको छैन।

यही चुनौतीलाई मध्यनजर गर्दै बाजुराका नौवटै स्थानीय तह भने मौलिक संस्कृति संरक्षण अभियानमा जुटेका छन्। जगन्नाथ, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक खापर गाउँपालिका तथा बडिमालिका, त्रिवेणी, बुढीनन्दा र बुढीगंगा नगरपालिकाले हुड्केली र पञ्चेबाजा संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेका छन्।
स्थानीय तहहरूले पालिकाभित्र रहेका एक सयभन्दा बढी कलाकारलाई परम्परागत पहिरन झल्किने दौरा–सुरुवाल सेट, दमाहा, झ्याली लगायतका वाद्यवादन सामग्री वितरण गरेका छन्। गाउँपालिकाले दोस्रो गाउँसभा तथा १६औँ अधिवेशनबाट स्थानीय कला, संस्कृति संरक्षणलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रमसमेत अघि बढाएको छ।
बाजुराको प्रमुख सांस्कृतिक पहिचानका रूपमा हुड्केली र पञ्चेबाजालाई जगेर्ना गर्ने लक्ष्यसहित स्थानीय पालिकाहरुले बजेट समेत विनियोजन गरिरहेका हुड्केली र पञ्चेबाजा सम्बन्धीका जानकार त्रिवेणी-९का धर्म नेपालीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्