तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ का लागि विद्यालय सञ्चालन सम्बन्धि महत्वपूर्ण निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । 

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले आज जारी गरेको सूचनामा नगर प्रमुखको उपस्थितिमा बसेको सरोकारवालाको संयुक्त बैठकले गरेका निर्णयहरू कार्यान्वयन गर्न सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई आग्रह गरिएको छ ।

निर्देशन अनुसार, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप्त मार्ग निर्देशन र नेपाल सरकारको नीति अनुसार विद्यालय सञ्चालन गरिनेछ । साथै, आवश्यक कार्यविधि तयार भएपछि सोही अनुसार कार्यान्वयन गरिने जनाइएको छ ।

निर्णयमा उल्लेख भए अनुसार, विद्यार्थी भर्ना प्रक्रिया बैशाख ७ गतेदेखि सुरु गरी बैशाख १५ गतेबाट नियमित पठनपाठन सञ्चालन गरिनेछ । सबै संस्थागत विद्यालयहरूले नेपाल सरकारको पाठ्यक्रम अनुसार तयार गरिएको पाठ्यपुस्तक मात्र प्रयोग गर्नुपर्ने र कम्तीमा तीन वर्षसम्म निरन्तरता दिनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, सामुदायिक तथा धार्मिक विद्यालयहरूले पनि सरकारी पाठ्यक्रम अनुसारका पुस्तक वितरण गर्नुपर्नेछ भने संस्थागत विद्यालयहरूले उपमहानगरपालिकाले निर्धारण गरेको मापदण्डभित्र रहेर मात्र शुल्क लिन पाउने स्पष्ट गरिएको छ ।

उक्त निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न उपमहानगरपालिकाले सम्बन्धित सबै विद्यालयलाई निर्देशन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button