सयौँको ज्यान बचाएको कोभिड अस्पताल अलपत्र
उदयपुर । कोभिड–१९ महामारीको कठिन समयमा उदयपुरका सयौँ नागरिकको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको जिल्लाको चौदण्डीगढी नगरपालिका–६ साताधारेस्थित कोभिड अस्पताल यतिबेला प्रयोगविहीन बन्दै गएको छ ।
महामारीका बेला वरदान सावित भएको उक्त अस्पताल अहिले आवश्यक पूर्वाधार, उपकरण र संरचना हुँदाहुँदै पनि सञ्चालन अभावका कारण लथालिङ्ग अवस्थामा पुगेको छ । स्थानीयवासीले यस अवस्थालाई तीनै तहका सरकारको बेवास्ताका कारण करोडौँको सार्वजनिक लगानी “बालुवामा पानी” जस्तै भएको टिप्पणी गर्न थालेका छन् ।
वि.सं. २०७७ साल पौष ६ गते तत्कालीन प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपालका लागि स्विजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर द्वारा संयुक्त रूपमा उद्घाटन गरिएको उक्त अस्पताल महामारीका बेला उदयपुर जिल्लाका लागि जीवन रक्षक संरचना बनेको थियो ।
स्विजरल्याण्ड सरकारको १ करोड ५० लाख रुपैयाँ र उदयपुरका आठ स्थानीय तह सम्मिलित उदयपुर विकास बोर्डको १ करोड २० लाख रुपैयाँ गरी कुल २ करोड ७० लाख रुपैयाँको लागतमा अस्पतालको उपकरण सहित सुविधायुक्त भवन निर्माण गरिएको यस अस्पतालमा करिब १ हजार १ सय संक्रमित बिरामीको सफल उपचार गरिएको तथ्याङ्क छ ।
अस्पतालमा १ पोर्टेबल भेन्टिलेटर, ४० वटा बेड, साना–ठूला गरी ३० वटा अक्सिजन सिलिन्डर लगायत उपचारका लागि आवश्यक न्यूनतम स्वास्थ्य सामग्री उपलब्ध गराइएको थियो । तर महामारी नियन्त्रणमा आएपछि उक्त संरचनालाई वैकल्पिक स्वास्थ्य सेवामा रूपान्तरण गर्ने विषयमा स्पष्ट योजना नबन्दा अस्पताल प्रयोगविहीन बन्दै गएको छ । अहिले अस्पताल परिसर झाडीले ढाकिन थालेको छ भने संरचना संरक्षण अभावमा क्रमशः जीर्ण बन्दै जाने जोखिम बढेको छ ।
हाल चौदण्डीगढी नगरपालिकाले वर्षमा एक पटक सञ्चालन गर्ने आँखा शिविर बाहेक उक्त अस्पतालमा नियमित उपचार सेवा सञ्चालन हुन सकेको छैन । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वयको अभावका कारण अस्पताललाई स्थायी रूपमा सञ्चालन गर्ने पहल नहुनु दुःखद भएको स्थानीयवासीको गुनासो छ । महामारीका बेला अत्यावश्यक ठानिएको संरचनालाई दीर्घकालीन स्वास्थ्य सेवामा रूपान्तरण गर्न नसक्नु तीनै तहका सरकारको प्राथमिकतामा स्वास्थ्य पूर्वाधार नपरेको स्पष्ट सङ्केत भएको सरोकारवालाहरूको भनाइ छ ।
रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने मदन भण्डारी लोकमार्गसँग जोडिएको यस अस्पताललाई ट्रमा सेन्टरका रूपमा सञ्चालन गर्न सके दैनिकजसो हुने सडक दुर्घटनाका घाइते बिरामीलाई तत्काल उपचार सेवा उपलब्ध गराउन सकिने पर्याप्त सम्भावना रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । तर आवश्यक निर्णय, बजेट व्यवस्थापन र नीति समन्वयको अभावमा यस्तो सम्भावना व्यवहारमा परिणत हुन सकेको छैन ।
स्थानीयवासीले तीनै तहका सरकारबीच स्पष्ट जिम्मेवारी निर्धारण गर्दै अस्पताललाई ट्रमा सेन्टर वा बहुउद्देश्यीय स्वास्थ्य केन्द्रका रूपमा तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्