तपाईँ सुन्दै हुनुहुन्छः

भोलिबाट इलाम गोल्डकप सुरु हुँदै 

इलाम । अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकप तेस्रो संस्करण २०८३ को ट्रफी आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। 

इलामको ठूलो टुँडिखेलमा आयोजित पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरिएको हो। कार्यक्रममा इलाममा रहेका पूर्व राष्ट्रिय खेलाडी दर्शन भक्तराज, मङ्गेश बस्नेत र विनोद श्रेष्ठले संयुक्त रूपमा पर्दा हटाएर ट्रफी सार्वजनिक गरेका हुन्।

आयोजक रेड हर्ष फुटबल क्लबका अनुसार प्रतियोगिता बैशाख ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ, जसमा मलेसिया, भारत र नेपालका चर्चित क्लबहरूबिच प्रतिस्पर्धा हुनेछ।

विदेशी टिमतर्फ एन पेनाङ एफसी (मलेसिया) र जर्जियन फुटबल क्लब कालेम्पोङ (भारत) सहभागी हुनेछन् भने नेपालका मच्छिन्द्र फुटबल क्लब, न्यूरोड टिम, चितलाङ फुटबल क्लब, रोलिङ क्लब झापा, फिदिम स्पोर्टिङ पाँचथर र आयोजक रेड हर्ष क्लबले प्रतिस्पर्धा गर्नेछन्।

सार्वजनिक गरिएको खेल तालिका अनुसार उद्घाटन खेल बैशाख ५ गते आयोजक रेड हर्ष क्लब र जर्जियन फुटबल क्लब कालेम्पोङबीच हुनेछ। बैशाख ६ गते फिदिम स्पोर्टिङ र रोलिङ क्लबबिच प्रतिस्पर्धा हुनेछ। बैशाख ७ गते मच्छिन्द्र क्लब र एन पेनाङ एफसीबीच खेल हुनेछ भने बैशाख ८ गते न्यूरोड टिम र चितलाङ क्लबबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button