तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल-भारत सिमाक्षेत्र दशगजामा रहेका अवैध संरचना हटाइयो

वीरगञ्ज। पर्साको बिन्दबासिनी गाउँपालिका वडा न-४ प्रसौनीभाटा अमरपट्टीस्थित नेपाल भारत सिमाक्षेत्र दशगजामा रहेका अवैध संरचना हटाइएको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म हे.क्वा. अलौबाट खटिएको टोली, प्रहरी चौकी अमरपट्टीको टोली तथा भारतको पूर्वी चम्पारण जिल्ला सिसुवा ग्राम पञ्चायत–१ अन्तर्गत सशस्त्र सीमा बल ४७ बटालियन ‘सी’ कम्पनी धुपाटोलाबाट खटिएको संयुक्त टोलीले आज नेपाल भारत सिमाक्षेत्र दशगजामा रहेका अवैध संरचना हटाएको हो । संयुक्त टोलीले दशगजा क्षेत्रमा अतिक्रमण गरी अवैध रूपमा सञ्चालनमा रहेका खुल्ला मदिरा पसल, अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी तथा बेचबिखनका लागि बनाइएका टहराहरू हटाएको सशस्त्र प्रहरीले जनाएको छ । 

कारबाहीका क्रममा नेपालतर्फ ५ वटा टहरा, ३ वटा मदिरा पसल र १ भट्टी तथा भारततर्फ ३ वटा टहरा हटाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । 

सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा अतिक्रमण रोक्न संयुक्त रूपमा निगरानी र कारबाहीलाई तीव्र पारिएको सशस्त्र प्रहरी बल नेपाल न-१३ गण हे.क्वा. पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले बताउनुभयो ।

सीमा क्षेत्रमा अवैध संरचना तथा गतिविधि नियन्त्रणका लागि यस्ता अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने निरौलाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button