तपाईँ सुन्दै हुनुहुन्छः

खतेडमा प्रशासनिक सेवा विस्तार, एकै दिन तीन सरकारी कार्यालय उद्घाटन

मुगु । दुर्गम क्षेत्रका नागरिकलाई स्थानीय तहमै सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ मुगुको खतेड गाउँपालिका स्थित रामतडीमा एकैदिन तीन वटा महत्वपूर्ण सरकारी कार्यालय उद्घाटन गरिएको छ।

गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली, मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, खतेड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाही, सुरक्षा निकायका प्रमुखहरू तथा सामाजिक अभियन्ता एवं जेन्जी पुस्ताका युवा नेता अनिल बानियाँ लगायतको टोलीले संयुक्त रूपमा कार्यालयहरूको उद्घाटन गरेको हो । 

उद्घाटनसँगै अब खतेड गाउँपालिकाका नागरिकले नागरिकता, सिफारिस, मालपोत, जग्गा नापजाँच, राहदानी लगायतका प्रशासनिक सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ। यसले समय, खर्च र श्रमको बचत हुनुका साथै सेवाग्राहीले छिटोछरितो सेवा पाउने विश्वास गरिएको छ।

स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको प्रशासनिक झन्झट अन्त्य हुने भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूका अनुसार अब आधारभूत सेवा लिन टाढा जानु नपर्ने भएपछि दैनिक जीवन सहज बन्नेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button