तपाईँ सुन्दै हुनुहुन्छः

अनुसन्धान भइरहेका विषयमा भ्रामक सूचना प्रकाशन नगर्न प्रहरीको अनुरोध

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले दर्ता भएर अनुसन्धान जारी रहेका घटनाका सम्बन्धमा भ्रामक, अप्रमाणित सूचना सृजना गरी प्रसारण/प्रकाशन नगर्न अनुरोध गरेको छ । 

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले दर्ता भएको ज्यानसम्बन्धी कसुरका आरोपी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकउपर सम्मानित सर्वोच्च अदालतको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको निर्देशनमा माथवर व्यक्तिको जमानीमा राखेर अनुसन्धान भइरहेको जनाउँदै त्यस विषयमा भ्रामक सूचना सिर्जना र प्रसारण/प्रकाशन नगर्न सबैलाई अनुरोध गरिएको बताउनुभयो । 

उहाँले आजै एक विज्ञप्ति जारी गरी ‘ओली–लेखकको अनुसन्धानमा झेल रु’ भन्ने शीर्षकमा एक युट्युब च्यानलमा श्रव्यदृश्य सामग्री प्रकाशन भएकाले त्यसमा अभिव्यक्त धारणा र सूचनामा ध्यानाकर्षण भएको जनाउनुभएको छ । 

परिसरले आज जारी गरेको सूचनामा भनिएको छ, “स्वतन्त्र, विधिसम्मत र सरकारी वकिल कार्यालय, काठमाडौँको कानुनी रायपरामर्शमा अनुसन्धान भइरहेकामा जिम्मेवार प्रहरी अधिकृतलाई जोडेर अनर्गल तथा भ्रामक सूचना सम्प्रेषण हुँदा जनमानसमा गलत जानकारी प्रवाह भएकाले भ्रामक, अप्रमाणित सूचना सृजना एवं प्रसारण/प्रकाशन नगर्न हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button