तपाईँ सुन्दै हुनुहुन्छः

फत्तेवाल आँखा अस्पतालको चार दशक : २९ लाखको आँखा परीक्षण

नेपालगञ्ज । नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पतालले विगत केही वर्षदेखि आँखा उपचार सेवामा उल्लेखनीय प्रगति गरेको तथ्याङ्कले देखाएको छ । अस्पतालमा बिरामी परीक्षण र शल्यक्रियाको संख्या निरन्तर बढ्दो क्रममा रहेको छ ।

अस्पतालका अनुसार आर्थिक वर्ष २०४२/०४३ देखि २०८१/०८२ सम्म कुल २९ लाख २९ हजार ५६३ बिरामीको आँखा परीक्षण गरिएको छ । यही अवधिमा २ लाख ९१ हजार ५३३ सफल शल्यक्रिया सम्पन्न भएका छन् ।

अस्पतालले समुदायस्तरमा सेवा विस्तार गर्दै आँखा शिविरमार्फत बिरामी परीक्षण, निःशुल्क शल्यक्रिया तथा चश्मा वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालय स्तरमा सञ्चालन गरिएका आँखा जाँच कार्यक्रममार्फत विद्यार्थीहरूको दृष्टि स्वास्थ्य सुधारमा समेत योगदान पुर्‍याइएको छ ।

तथ्याङ्क अनुसार विभिन्न वर्षहरूमा हजारौँ बिरामीले शिविरमार्फत सेवा लिएका छन् भने सयौँ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । साथै, हजारौँको आँखा परीक्षण गरी आवश्यक परेकालाई निःशुल्क चश्मा वितरण गरिएको छ ।

अस्पतालको आँखा उपचार केन्द्रमा आर्थिक वर्ष २०६७/६८ देखि २०८१/८२ सम्म कुल १ लाख ३८ हजार ५३५ जना बिरामीको परीक्षण गरिएको तथ्याङ्कमा उल्लेख छ । यही अवधिमा ५ हजार १९७ निःशुल्क चश्मा वितरण गरिएको तथ्याङ्क छ ।

अस्पतालका अनुसार, दुर्गम तथा विपन्न समुदायसम्म सहज पहुँच पुर्‍याउने लक्ष्यसहित सेवा विस्तार गरिँदै आएको छ । पछिल्ला वर्षहरूमा सेवाग्राहीको विश्वास बढ्दै जाँदा अस्पताल क्षेत्रीय स्तरमै महत्वपूर्ण स्वास्थ्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button