बाँकेमा खोप ड्रप आउट बालबालिकाको संख्या ८००, वैशाखभर खोजी गरिने
नेपालगञ्ज । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको संख्या ८०० छ । खोप ड्रप आउटको संख्या ठूलो भएका कारण बैशाख महिनाभर खोजपड्ताल गर्ने तयारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्षमा जिल्लामा सबैभन्दा बढी ड्रप आउट मुस्लिम समुदायमा छ । ३५४ जना बालबालिकाले खोपको मात्रा पूरा गरेनन् । त्यस्तै मधेशी समुदायका १८९, दलित १२८, जनजाति ५७ छन् । यो सर्वेक्षणमा खोजेर पत्ता लागेको संख्या हो ।

१६ महिनादेखि ५९ महिनासम्मका खोप पूरा नगरेका बालबालिकालाई लक्षित गरी खोपपड्ताल अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताउनुभयो । सरकारले बैशाख महिनालाई खोप महिनाका रुपमा मनाउने गर्दछ । वैशाखलाई सचेतना प्रबद्र्धन महिनाका रुपमा समेत मनाइन्छ । वैशाखको दोस्रो हप्तालाई खोप सप्ताहका रुपमा पनि मनाउने गरिएको छ ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोप कार्यक्रमको निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालासँग आयोजित पैरवी बैठकमा खोप सम्बन्धि प्रस्तुतीकरण गर्दै स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले खोपको कारण बाल मृत्युदर घट्दो क्रममा रहेको बताउनुभयो । राष्ट्रिय खोप कार्यक्रममा १५ महिना मुनिका बालबालिकालाई विभिन्न १३ प्रकारका खोप, गर्भवती महिलालाई खोप तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एभपीभी खोप लगाइन्छ ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा सम्पन्न पैरवी बैठकमा जिल्ला समन्वय समिति उपप्रमुख सीता कार्की, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, जानकी उपाध्यक्ष रामप्यारी यादव, नेपालगञ्ज उपमहानगरपालिकाका उपसचिव गोर्खबहादुर थापा, राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, आठै पालिकाका स्वास्थ्य शाखा प्रमुख, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, मुस्लिम धर्मगुरु एवम् मौलाना लगायतको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्