टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका वडा न-९ राजाबासस्थित मदन भण्डारी लोकमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
आज सोमबार बिहान करिब ९ः३० बजे त्रियुगा नगरपालिका वडा न-९ झिल्केटोलबाट राजाबासतर्फ जाँदै गरेको स १० प ४७१७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ५ ख ६१७ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक त्रियुगा नगरपालिका वडा न-९ डाँडाटोल बस्ने अन्दाजी ३५ वर्षीय हरी दनुवारलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा बिहान ९ः५० बजे अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
यद्यपि स्थानीयवासीहरूका अनुसार पसलका लागि मासु लिएर घर फर्किँदै गरेका दनुवारले चलाएको मोटरसाइकललाई अर्को एक मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको टिपरमुनि परेको र घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ। उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक बिपेश कुमार देवको टोली खटिएर उद्धार तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न टिपर चालक त्रियुगा नगरपालिका वडा न-७ होक्से बस्ने अन्दाजी २८ वर्षीय आशिष माझीलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्