बाँकेमा तस्करीविरुद्ध सशस्त्र प्रहरी सक्रिय, ३० लाख बढीका सामान बरामद

बाँके । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँके तथा मातहतका इकाईबाट शनिबार खटिएको टोलीले भन्सार छली भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको करिब ३१ लाख रुपैयाँ बराबरको सामग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरीबाट प्राप्त जानकारीअनुसार सीमा क्षेत्रमा नियमित गस्तीका क्रममा भारतबाट अनधिकृत रूपमा नेपाल ल्याइँदै गरेको च्यागा मसरुम, फलफूल, तरकारी तथा एक थान ट्र्याक्टर नियन्त्रणमा लिइएको हो।
बरामद गरिएको सामग्रीको अनुमानित मूल्य रु ३० लाख ८३ हजार ६ सय ८९ रहेको सशस्त्र प्रहरीले जनाएको छ। उक्त सामान आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
सीमा क्षेत्रबाट हुने अवैध चोरी–तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई थप प्रभावकारी बनाएको जनाएको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा कडाइ बढाइएकाले यस्ता अवैध गतिविधिमा संलग्न समूहहरू माथि नियन्त्रण गर्न सफलता मिलिरहेको सुरक्षा अधिकारीहरूको भनाइ छ।








प्रतिक्रिया राख्नुहोस्