तपाईँ सुन्दै हुनुहुन्छः

माईजोगमाईमा बेसार खेती, “एक वडा, एक उत्पादन” कार्यक्रममार्फत् किसानलाई टेवा

इलाम । माईजोगमाई गाउँपालिका ले “एक वडा, एक उत्पादन” कार्यक्रमअन्तर्गत वडा नम्बर ५ मा बेसार खेतीको औपचारिक सुरुआत गरेको छ। कार्यक्रमको उद्देश्य कृषि क्षेत्रलाई व्यावसायिक र आयमूलक बनाउनु हो।

गाउँपालिका र कृषि शाखाको सहयोगमा सञ्चालित सामूहिक बचत तथा कृषि समूहले अनुदानको उपयोग गर्दै करिब १०० देखि १२० मनसम्म काँचो बेसार उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ। यसबाट स्थानीय उत्पादन वृद्धि र बजार व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमअन्तर्गत करिब ९० हजार रुपैयाँको बेसार कटिङ मेसिन खरिद गरिएको छ। आधुनिक उपकरणको प्रयोगले उत्पादन प्रक्रिया सहज र प्रभावकारी हुने विश्वास लिइएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे, उपाध्यक्ष प्रविना राई, कृषि शाखा प्रमुख उषा श्रेष्ठ र कार्यपालिका सदस्य कल्पना रसाइलीले संयुक्त रूपमा बेसार काटेर उत्पादनको शुभारम्भ गर्नुभएकाे थियाे।

उपाध्यक्ष प्रविना राईले “एक वडा, एक उत्पादन” कार्यक्रमले किसानलाई आत्मनिर्भर बनाउन र आयआर्जन बढाउन सहयोग पुग्ने बताइन्। उनले कृषि क्षेत्रमा आधुनिकीकरण र प्रविधिको प्रयोग आवश्यक रहेको उल्लेख गर्दै उत्पादनसँगै प्रशोधन र बजारीकरणमा जोड दिइने जानकारी दिनुभयाे।

गाउँपालिकाले हरेक वडामा विशेष कृषि उपज पहिचान गरी त्यसको व्यवसायिक विकासमा जोड दिँदै आएको छ। वडा नम्बर ५ मा बेसार खेती सुरु भएसँगै उत्पादन वृद्धि, गुणस्तर सुधार र किसानको आम्दानी बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button