तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क आँखा तथा कान परीक्षण शिविरबाट ५२४ जना लाभान्वित

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४, चन्द्रनिगाहपुरस्थित नव विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूका लागि निःशुल्क आँखा तथा कान परीक्षण शिविर सम्पन्न गरेको छ ।

शनिबार संस्थाको आफ्नै भवनमा आयोजित एक दिने शिविरमा ५२४ जना शेयर सदस्यले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । तीमध्ये २८० जनाले आँखा र २४४ जनाले कान परीक्षण गराएको संस्थाले जनाएको छ । 

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आयोजित शिविरको उद्घाटन रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभु पोखरेलले गर्नुभएको थियो । 

संस्थाका अध्यक्ष राजेन्द्र तिवारीले विगत १२ वर्षदेखि निरन्तर रुपमा निःशुल्क आँखा तथा कान परीक्षण शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत माध्यमिक तहको हाजिर जवाफ प्रतियोगिता, वृक्षारोपण तथा विभिन्न संघ–संस्थालाई सहयोगजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।

अध्यक्ष तिवारीले विधि र विधानअनुसार सञ्चालन भएकै कारण संस्था पटक–पटक मधेश प्रदेशकै उत्कृष्ट सहकारीका रूपमा स्थापित हुँदै आएको पनि बताउनुभयो । 

संस्थाका प्रमुख व्यवस्थापक यज्ञ प्रसाईंका अनुसार इम्प्याक्ट नेपालको प्राविधिक सहयोगमा कान सम्बन्धी परीक्षण तथा दृष्टि आँखा अस्पताल, वीरगञ्जको प्राविधिक सहयोगमा आँखा परीक्षण गरिएको थियो । साथै राम–रेवती प्रतिष्ठानका अध्यक्ष डा. शालिग्राम शर्मा पौडेल र हिमालय पोलिक्लिनिक प्रालिको सहयोगमा निःशुल्क औषधि वितरण गरिएको उहाँले जानकारी दिनुभयो । 

शिविर उद्घाटन कार्यक्रममा चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख शेख नसरे आलम, रौतहट बचत तथा ऋण सहकारी संघका महासचिव तथा संस्थाका पूर्व अध्यक्ष देवबहादुर सापकोटा, चन्द्रोदय साकोसका अध्यक्ष बसन्त आचार्य, एकीकृत साकोसका अध्यक्ष कृष्णबहादुर खड्का, संस्थापक अध्यक्ष खड्गबहादुर तामाङ तथा सल्लाहकार दुर्गा चिमोरिया लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button