तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा ४० हजार बढी नागरिक स्वास्थ्य बिमामा आवद्ध

बाजुरा। बाजुरामा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण निरन्तर बढ्दै गएको छ।


२०७४ साल चैत २५ गतेबाट सुरु भएको यस कार्यक्रमअन्तर्गत हालसम्म २८ हजार ९ सय २२ घरपरिवारमध्ये ९ हजार २ सय ३७ परिवारका करिब ४० हजारभन्दा बढी नागरिक बिमामा आवद्ध भइसकेका छन्।

जिल्ला शाखा संयोजक तारा कुमारी रोकायाका अनुसार स्वास्थ्य बीमा कार्यक्रमले विशेषगरी विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई राहत प्रदान गर्दै आएको छ। बिमामा आवद्ध नागरिकहरूले जिल्ला अस्पताल बाजुरासँगै अन्य स्वास्थ्य संस्थाबाट समेत उपचार सेवा लिँदै आउनुभएको छ,जसले सेवा पहुँच अझ विस्तार भएको देखाउँछ।

हाल ५ सदस्यीय परिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ बीमा शुल्क तिरेर एक वर्षमा १ लाख रुपैयाँसम्मको उपचार सेवा पाउने सुविधा रहेको छ। यसअन्तर्गत २५ हजार रुपैयाँसम्मको ओपिडी सेवा पनि समावेश गरिएको छ, जसले सामान्यदेखि जटिल रोगसम्मको उपचारमा सहजता ल्याएको छ।

पछिल्लो समय नेपाल सरकारले बीमा शुल्क र सेवा सीमा दुवै विस्तार गर्दै करिब ७ लाख रुपैयाँसम्मको उपचार सुविधा पुर्‍याउने नीति अघि सारेको छ। यसले आगामी दिनमा स्वास्थ्य बीमा कार्यक्रम झन् प्रभावकारी र सर्वसुलभ हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये बाजुरा, कञ्चनपुरपछि सबैभन्दा बढी विमित भएको जिल्लाका रूपमा स्थापित भएको छ। बाजुरा जस्तो भौगोलिक विकटता र गरिबीको चपेटामा रहेको जिल्लाका नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रम निकै प्रभावकारी बन्दै गएको अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताउनुभयो । सरोकारवालाहरूका अनुसार स्वास्थ्य बीमा कार्यक्रमले उपचार अभावका कारण ज्यान गुमाउने जोखिम घटाउँदै विपन्न नागरिकका लागि वास्तविक ‘वरदान’ सावित हुँदै गएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button