सुदूरपश्चिम प्रदेश सभाबाट ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा विधेयक २०८२’ सर्वसम्मतिले पारित
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकले ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा विधेयक २०८२’ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सभामुख भिम बहादुर भण्डारी उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्नुहुँदै सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।

त्यसअघि बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीले “सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक, २०८२ पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
यस्तै, प्रदेश सभा बैठकले सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम २०९(३) बमोजिम प्रदेश सभा सदस्यले लगाउने प्रतीक चिन्ह लोगो निर्धारण सम्बन्धीको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीले प्रस्तुत गर्नुभएको “सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रदेश सभाको अर्को बैठक चैत्र २९ गते बिहान ९ बजे बस्ने कार्यतालिका रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्