लामखुट्टे धपाउन बालिएको ‘घुर’ बाट आगलागी हुँदा लाखौँको क्षति
वीरगञ्ज । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१ सेढवाको बलुवा टोलमा गए राति अचानक आगलागी हुँदा स्थानीय मोटर मुखिया बिनको घर जलेर नष्ट हुनुको साथै लाखौँको क्षति भएको छ ।

प्रहरीका अनुसार गए राति करिब ११ः३० बजे लामखुट्टे धपाउन बालिएको ‘घुर’ बाट अचानक आगो सल्किएर आगलागी हुँदा घरभित्र रहेको अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, १२ थान सुनचाँदीका गहना पूर्ण रूपमा जलेर खरानी भएका छन् ।
यसबाहेक गोठमा राखिएका चारवटा बाख्रा र एक गाई समेत जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पीडित मोटर मुखिया बिनका अनुसार घर बनाउनका लागि छिमेकी लघुवित्तबाट ऋण स्वरूप ल्याइएको ६ लाख रुपैयाँ नगद समेत जलेर नष्ट भएको छ । “घर बनाउने सपना बुनेर ऋण ल्याएको थिएँ, आगोले सर्वस्व लुट्यो,” पीडित बिनले आँसु बगाउँदै बताउनुभयो ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, प्रहरी चौकी महादेवपट्टी र सशस्त्र प्रहरी बल बीओपी महादेवपट्टीको टोली स्थानीयबासीले राती नै आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्