तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै

बैतडी। बैतडीमा ६६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । यहाँका १६ हजार ४४१ परिवारका ६६ हजार २४७ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका हुन् ।

ज्येष्ठ नागरिक, क वर्गको अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित, एमडीआरटी टीबी भएका व्यक्ति, कुष्ठ रोग लागेका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बीमा गर्ने गरिएको स्वास्थ्य बीमा सम्पर्क कार्यालय बैतडीका प्रमुख अनिलचन्द्र जोशीले बताउनुभयो । यस्तै महिला स्वास्थ्य स्वयं सेविकाहरूको स्वास्थ्य बीमा गर्दा प्रिमियमको आधा सरकारले तिर्ने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमामा आवद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा उपचार सेवा पाउने गरेका छन् । बैतडीमा हकमा जिल्ला अस्पताल बैतडी, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र  मेलौली सूचीकृत स्वास्थ्य संस्थाको रुपमा रहेका जोशीले जानकारी दिनुभयो ।

उक्त संस्थाहरूमा उपचार हुन नसकेमा रेफर गरिएका अन्य अस्पतालहरूमा पनि निःशुल्क उपचार हुने गरेको उहाँले बताउनुभयो ।

स्वास्थ्य बीमामा आवद्ध हुन चाहने नागरिकले ५ जना सम्मको परिवार सदस्यका लागि वार्षिक ३ हजार ५ सय प्रिमियम तिर्नुपर्ने र त्यो बाफत एक लाख बराबरको उपचार निःशुल्क पाइने गरेको छ । ५ जनाभन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य सात सय थप प्रिमियम बुझाउनुपर्ने र उनीहरूले थप २० हजारका दरले उपचार सुविधा पाउने गरेका छन् ।

गरिब नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । एकमुष्ट ठूलो रकम उपचारका लागि तिर्न नसक्ने नागरिकका लागि यो निकै फाइदाजनक कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button