इलाममा अलैँचीको मूल्य स्थिर, किसानलाई राम्रो आम्दानी
इलाम । अलैँचीको सिजन सकिनैलाग्दा अहिले जिल्लाभरि गाउँ–गाउँबाट धमाधम बिक्री भइरहेको छ। गतबर्ष भदौ–असोजदेखि सुरु भएको अलैँची सिजन अन्तिम चरणमा पुग्दा किसानहरू उत्पादन बिक्रीमा व्यस्त देखिएका छन्।
यस वर्ष सिजनको सुरुदेखि नै अलैँचीको मूल्य स्थिर रह्यो। सुरुवातमा प्रतिमन ९० देखि ९५ हजार रुपैयाँमा कारोबार भएको अलैँची अहिले पनि करिब ९६ हजारदेखि एक लाख रुपैयाँसम्ममा किनबेच भइरहेको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार व्यापारीहरूले यस वर्ष ठूलो परिमाणमा स्टक नराख्दा मूल्य सिधैँ किसानकै हातमा पुगेको छ। “माइमझुवाबाट मात्रै हालै १५ मन अलैँची आयो, किसानले बिक्रीबाट आएको पैसा सोझै खर्च गरिरहेका छन्, गाउँमा नगद अभाव देखिएको छैन,” उहाँले भन्नुभयो ।
नेपालको प्रमुख नगदे बालीमध्ये पर्ने अलैँची विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत हो। तर पछिल्लो समय मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वका कारण खाडी मुलुकतर्फ निर्यात केही प्रभावित भएको बताइन्छ। त्यसका बाबजुद किसानमा अलैँची खेतीप्रतिको आकर्षण भने घटेको छैन। इलामबाट मात्रै वार्षिक करिब तीन अर्ब रुपैयाँ बराबरको अलैँची निकासी हुने गरेको अनुमान छ।
उत्पादनको हिसाबले पनि यो वर्ष किसानहरू सन्तुष्ट छन्। इलामका विभिन्न स्थानमा किसानहरूले १० किलोदेखि १५–२० मनसम्म अलैँची उत्पादन गरेका छन्। माइमझुवाका किसान दशरथ पौडेलले पाँच मन अलैँची बिक्री गरेर राम्रो आम्दानी गरेको बताए। “मूल्य राम्रो आयो, अब आउने वर्ष पनि अझ राम्रो उत्पादन हुने आशा छ,” उहाँले भन्नुभयो ।
यस वर्ष फागुन–चैतमा परेको वर्षा र असिना पानीले अलैँचीलाई पर्याप्त सिँचाइ पुगेको किसानहरूको भनाइ छ। कम लागतमा राम्रो उत्पादन लिन सकिने भएकाले जिल्लामा अलैँची खेती विस्तार हुँदै गएको छ।
देशभर ५४ जिल्लामा अलैँची खेती हुने गरेको छ भने करिब १४ हजार ३ सय ८३ दशमलव पाँच हेक्टर क्षेत्रफलमा यसको खेती फैलिएको छ। विशेषगरी इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर र धनकुटालगायत पूर्वी पहाडी जिल्लामा सबैभन्दा बढी उत्पादन हुने गरेको छ।
मेची भन्सार कार्यालयका अनुसार गएको आर्थिक वर्ष २०८१÷०८२ मा ७ अर्ब ६७ करोड ४० लाख ३६ हजार रुपैयाँ बराबरको ४२ लाख ९४ हजार ५ सय ५० किलो अलैँची निर्यात भएको थियो।
चालु आर्थिक वर्षको फागुनसम्म भने ९ अर्ब ४९ करोड ६१ लाख ४५ हजार रुपैयाँ बराबरको ४६ लाख ५ हजार १ सय ५० किलो अलैँची निकासी भइसकेको तथ्याङ्कले देखाउँछ।








प्रतिक्रिया राख्नुहोस्