आँपको दाना लाग्ने बेलामा मधुवा रोगको प्रकोप, उत्पादनमा असर
जनकपुरधाम । मधेश प्रदेशका प्रमुख फलको रुपमा रहेको आँप फल्ने बेलामा मधुवा रोग लागेका कारण उत्पादनमा कमी आउने भएको छ ।

यस पटक अत्यधिक मात्रामा आँपको बोटमा फूल लागेपछि आँपको उत्पादन दुई गुणाले बढ्ने प्रारम्भिक प्रक्षेपण गरिएको भए पनि दाना आउने बेलामा मधुवा रोग लागेका कारणले आँप थोरै मात्रा फलेको हो ।
मधेश प्रदेशका कृषि विकास निर्देशनालयका अनुसार मधेश प्रदेश भरिमा ३४ हजार १ सय १६ हेक्टर क्षेत्रफलमा आँप खेती भए पनि आँप उत्पादन हुने क्षेत्रफल २९ हजार ९९ हेक्टर रहेको छ । यस पटक आँपमा लागेमा मधुवा रोग लागेका कारणले आँपको फूल तथा फल लाग्ने मज्जर नै सुकेको छ ।
मधुवा रोग लागेपछि आँपको बोटबाट मध जस्तो चुहिएर आँपको फल्न लाग्न नदिने अवस्थाका कारणले यस वर्ष अपेक्षा अनुसारको आँप नफल्ने किसानहरुले जनाएका छन् ।
मधेश प्रदेशका जिल्लाहरूमा गत वर्ष ३ लाख ९५ हजार ७ सय ९४ मेट्रिक टन आँपको उत्पादन भएको कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत सन्दीप ठाकुरले जानकारी दिनुभयो । मधेश प्रदेशका जिल्लाहरूमा आँपको उत्पादन प्रति हेक्टर १३.६० मेट्रिक टन हुने गरेको मधेश प्रदेशका कृषि विकास निर्देशनालयले जनाएको छ ।
आँप फुल्ने बेलामा औषधि नछर्किनका लागि कृषि ज्ञान केन्द्र धनुषाले किसानहरूका लागि सूचना सहितको जानकारी दिए पनि केही किसानले औषधि छर्केका कारणले मधुवा रोगको प्रकोप आँपमा लाग्नबाट जोगाएको भएपनि धेरै किसानको आँप मधुवा रोगका कारण समाप्त भएको छ ।
मधेश प्रदेशका जिल्लाहरूमा अत्यधिक मात्रामा मालदह, मुम्बई, आम्रपाली, किसुनभोग, जर्दा, कलकत्तिया सहितका जातिका आँप अत्यधिक मात्रामा उत्पादन हुने गर्दछन् ।








प्रतिक्रिया राख्नुहोस्