इलाम गोल्डकप २०८३ मा ८ टिमबीच प्रतिस्पर्धा हुने
इलाम । रेड हर्ष फुटबल क्लबले आयोजना गर्ने एन आरएन ए इलाम गोल्डकपको तेस्रो संस्करण यस वर्ष बैशाख ५ देखि १२ गतेसम्म इलामको ठूलो टुँडिखेलमा हुने भएको छ। मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको खेल तालिका, सहभागी टिम र पुरस्कार विवरण सार्वजनिक गरिएको छ।

प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ। विदेशी टिममा एन पेनाङ एफसी (मलेसिया) र जर्जियन फुटबल क्लब कालेम्पुङ (भारत) रहेका छन्। नेपालका चर्चित टिमहरूमा मच्छिन्द्र फुटबल क्लब काठमाण्डौं, न्यूरोड फुटबल क्लब काठमाण्डौं, चितलाङ फुटबल क्लब, फिदिम स्पोर्टिङ पाँचथर, रोलिङ क्लब झापा र आयोजक रेड हर्ष क्लब मैदानमा देखिनेछन्। क्लब सदस्य तथा एन्फा पूर्व केन्द्रीय सदस्य निरोज खड्गीले प्रतियोगितामा नेपालका चर्चित खेलाडी द्रोण थापा लगायत अन्य प्रमुख खेलाडीहरू खेलमा सहभागी हुने जानकारी दिनुभयो ।
खेलतालिका अनुसार बैशाख ५ गते आयोजक रेड हर्ष क्लब र जर्जियन फुटबल क्लबबिच उद्घाटन खेल हुनेछ। बैशाख ६ गते फिदिम स्पोर्टिङ पाँचथर र रोलिङ क्लब झापाको प्रतिस्पर्धा हुनेछ। बैशाख ७ गते मच्छिन्द्र फुटबल क्लब काठमाण्डौं र एन पेनाङ एफसी मलेसियाबिच खेल हुनेछ भने बैशाख ८ गते न्यूरोड काठमाण्डौं र चितलाङ फुटबल क्लब काठमाण्डौंको खेल हुने जानकारी क्लबका अध्यक्ष सुजितसिंह खत्रीले दिनुभयो ।
प्रतियोगितामा अनुमानित खर्च ७८ लाख भन्दा बढी हुने बताइएको छ। विजेता टिमले १० लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। अन्य खर्चमा रेफ्री, विधागत पुरस्कार, प्रतियोगिता सञ्चालन, टिम व्यवस्थापन, स्वयंसेवकको खाना, साउन्ड सिस्टम, खेल मैदान व्यवस्थापन, प्रचार–प्रसार, अतिथि सत्कार र विविध खेल सामग्री समावेश छ।
प्रतियोगिता एग्रो थाइफूड्स, एनआरएनए, स्थानीय सरकार, विभिन्न संघ–संस्था र दाताहरूको सहयोगमा सञ्चालन हुनेछ। एग्रो थाइफूड्सले तीन वर्षको प्रायोजन सम्झौता अनुसार आवश्यक सामग्री उपलब्ध गराउने व्यवस्था गरिएको छ। क्लब अध्यक्ष सुजितसिंह खत्रीका अनुसार प्रतियोगिताको खर्च व्यवस्थापन मुख्य प्रायोजक, अन्य प्रायोजक, सङ्घसंस्था, प्रदेश तथा स्थानीय सरकार, प्रवेश शुल्क, अग्रिम टिकट बिक्री र विदेशमा रहेका इलामेलीको सहयोगबाट गरिनेछ।








प्रतिक्रिया राख्नुहोस्