तपाईँ सुन्दै हुनुहुन्छः

रारामा बढ्दो पर्यटक आकर्षण : ११ महिनामा ११ हजारभन्दा बढी आगमन, करिब ५० लाख राजस्व संकलन

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा पर्यटक आगमन उत्साहजनक रूपमा बढेको देखिएको छ।

वैशाख १ गतेदेखि फागुन मसान्तसम्मको अवधिमा रारा राष्ट्रिय निकुञ्जमा नेपाल, सार्क तथा अन्य विदेशी गरी कुल ११ हजार १४६ जना पर्यटकले भ्रमण गरेका छन्।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका मुख्य वरिष्ठ वन संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठका अनुसार सो अवधिमा आन्तरिक पर्यटक १० हजार ९७१, सार्क राष्ट्रबाट ६९ र अन्य विदेशी १०६ जना रहेका छन्।

उक्त अवधिमा पर्यटक प्रवेश शुल्कबाट मात्र २४ लाख १८ हजार ६३० रुपैयाँ राजस्व संकलन भएको छ। यसबाहेक दण्ड–जरिवाना, रोयल्टी, वन पैदावार बिक्री तथा अन्य शीर्षकबाट समेत आय संकलन भएको छ। सबै शीर्षक समेट्दा ११ महिनामा कुल ४९ लाख ७३ हजार ७५ रुपैयाँ राजस्व संकलन भएको निकुञ्ज कार्यालयले जनाएको छ।

श्रेष्ठका अनुसार संकलित राजस्व सरकारको खातामा जम्मा गरिन्छ। प्रत्येक आर्थिक वर्षमा संकलित कुल राजस्वमध्ये ३० देखि ५० प्रतिशतसम्म रकम अर्थ मन्त्रालयमार्फत विनियोजन भई आगामी वर्षमा सम्बन्धित निकुञ्जको मध्यवर्ती क्षेत्र विकासमा खर्च गर्ने व्यवस्था छ। यसले स्थानीय समुदायको विकास, पूर्वाधार निर्माण तथा संरक्षण कार्यमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

राराको मनमोहक प्राकृतिक सौन्दर्य, शान्त वातावरण तथा पछिल्लो समय सडक यातायातमा भएको सुधारका कारण पर्यटकको आकर्षण क्रमशः बढ्दै गएको हो। यद्यपि, सुविधा सम्पन्न होटल, स्थानीय परिकारको प्रवर्द्धन तथा सेवा–सुविधाको विस्तार गर्न सके आगामी दिनमा पर्यटक संख्या अझै वृद्धि हुने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button