तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गम रोवा गाउँमा प्रहरी पोस्ट सञ्चालनमा

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं. ११ मा पर्ने दुर्गम रोवा गाउँमा अन्ततः प्रहरी पोस्ट सञ्चालनमा आएको छ। लामो समयदेखि सुरक्षा निकायको पहुँच बाहिर रहेको यस क्षेत्रका बासिन्दाले अब नजिकमै प्रहरी सेवा पाउने भएका छन्।

स्थानीय स्तरमा बढ्दो सुरक्षा चुनौती, चोरी–डकैती तथा सामाजिक विवादलाई नियन्त्रण गर्न प्रहरी पोस्ट आवश्यक रहेको भन्दै स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएका थिए। सामाजिक अभियन्ता अनिल बानियाँको पहलमा सरकारबाट प्रहरी पोस्ट स्वीकृत भई सञ्चालनमा आएको हो।

प्रहरी पोस्ट स्थापना भएसँगै अब शान्ति सुरक्षा कायम गर्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा विपद्का बेला तत्काल उद्धार तथा सहयोग पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ। यसले स्थानीयमा सुरक्षाको अनुभूति बढ्नुका साथै सरकारी उपस्थितिलाई पनि मजबुत बनाउने विश्वास गरिएको छ।  स्थानीय स्तरमानै  अस्थाई प्रहरी पोष्ट स्थापना भए पछि छायाँनाथराराका रोवा, सोभा, र्याङ्चेकाटी, लुम्स, चराप, गाँडापानी, झाकोट, तलिलेक, लुहारपोल्ना, घट्टललेक लगायत  करिब एक दर्जन बस्तीहरूमा  फाइदा पुग्ने छ ।

प्रहरी पोष्ट  ‌औपचारिक रूपमा सञ्चालन गर्नको लागि  नगर प्रमुख विष्णुकुमार भाम उपप्रमुख ऐश्वर्य मल्ल, प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, प्रहरी नायब उपरिक्षक रबिराज थपलिया, वडा अध्यक्ष कुन्जुमा  कुमाईले  आज एक औपचारिक कार्यक्रमका बिच संयुक्त रूपबाट प्रहरी पोष्ट उद्घाटन गरिएको  प्रहरी नायब उपरिक्षक  रबिराज थपलियाले जानकारी दिनु भयो ।

स्थानीयवासीले प्रहरी पोस्ट सञ्चालनमा आएकोप्रति खुशी व्यक्त गर्दै यसले गाउँको सुशासन र  विकासमा सकारात्मक प्रभाव पार्ने  अपेक्षा राख्नुका साथै  जनताको  सुरक्षाको लागि प्रहरी  पोष्ट  स्वीकृत गर्ने नेपाल सरकार  पहल गर्ने सामाजिक अभियन्ता अनिल बानियालाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button