रौतहटका सरकारी कार्यालयमा अब बिचौलिया प्रवेश बन्द, भेटिए कारबाही हुने

रौतहट । जिल्लास्थित सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई सहजीकरण गर्ने नाममा अवैध रूपमा रकम असुल्ने गतिविधि बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले कडा कदम चालेको छ ।
जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै जिल्लाभरका सरकारी कार्यालय वरिपरि तथा कार्यालयभित्र बिचौलियाको प्रवेश निषेध गरेको जनाएको हो । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको हस्ताक्षरमा जारी सूचनामा सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने बहानामा गैरकानुनी रूपमा रकम असुल्ने व्यक्तिहरूको गतिविधि नियन्त्रण गर्न यस्तो निर्णय गरिएको उल्लेख छ ।
प्रशासनले सरकारी कार्यालय परिसरमा यस्ता व्यक्तिहरूको आवतजावत पूर्ण रूपमा रोक लगाइएको स्पष्ट पारेको छ। साथै, निषेधाज्ञा उल्लङ्घन गर्दै बिचौलिया गतिविधिमा संलग्न पाइएमा प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
पछिल्लो समय मालपोत, अदालत, तथा अन्य सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई अनावश्यक दुःख दिँदै बिचौलियामार्फत काम गराउने प्रवृत्ति बढ्दै गएको गुनासो बढेपछि प्रशासनले यस्तो निर्णय लिएको हो ।
यस कदमले सेवाग्राहीलाई प्रत्यक्ष सेवा लिन सहज हुने तथा कार्यालयहरूमा पारदर्शिता र सुशासन कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्