रौदीगाड लघु जलविद्युत् बन्द, वडा–३ का दुई सय घर अन्धकारमा
बाजुरा। शनिबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले बाजुराको गौमुल गाउँपालिका–३ स्थित रौदीगाड लघु जलविद्युत् आयोजना पूर्ण रूपमा ध्वस्त भएको छ।
आइतबार बिहान करिब साढे ६ बजे सञ्चालनमै रहेको पावरहाउसमा पहिरो खस्दा आयोजनाको मुख्य संरचनामा गम्भीर क्षति पुगेको हो।
वडा अध्यक्ष गोरख बोहराका अनुसार निरन्तर वर्षासँगै विद्युत् नहरको पाइप फुटेपछि पहिरो गएको र त्यसले आयोजनाको संरचना नै पुरेको छ। पहिरोले भवनसँगै जेनेरेटर, ट्रान्समिटर, मदरबोर्ड, एलसीलगायत महत्वपूर्ण उपकरणमा क्षति पुर्याएपछि आयोजना पूर्ण रूपमा बन्द भएको छ।
लघु जलविद्युत् आयोजनाका अध्यक्ष लालबहादुर रोकायाले ठूलो भौतिक क्षति पुगेकाले तत्काल पुनः सञ्चालन गर्न कठिन रहेको बताउनुभयो। २०६९ चैत २५ गतेदेखि सञ्चालनमा आएको ३१.५ किलोवाट क्षमताको उक्त आयोजनाबाट वडा नम्बर–३ का दुई सयभन्दा बढी घरधुरी लाभान्वित हुँदै आएका थिए। आयोजना बन्द भएसँगै अहिले पूरा बस्ती अन्धकारमा डुबेको छ।
विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयका दैनिक कामकाजसमेत प्रभावित भएका छन्। वैकल्पिक ऊर्जा व्यवस्था नहुँदा स्थानीयवासी थप समस्यामा परेका छन्। स्थानीय मदन विकका अनुसार विद्युत् अभावले जनजीवन कष्टकर बन्दै गएको छ।
क्षतिको विवरण सङ्कलनका लागि गाउँपालिकाको केन्द्र घट्मुनाबाट प्रहरी टोली घटनास्थल पुगेको छ। वडा अध्यक्ष बोहराले मर्मत तथा पुनः सञ्चालनका लागि पहल भइरहेको जानकारी दिनुभयो।
पहाडी भू–भागको कमजोर र भिरालो संरचनाका कारण वर्षायाममा पहिरोको जोखिम उच्च रहने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।








प्रतिक्रिया राख्नुहोस्