रेडियो नेपालको ७६ औँ वार्षिकोत्सव बर्दिबासमा पनि मनाइयो
जनकपुरधाम । सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको ७६ औ वार्षिकोत्सव प्रादेशिक प्रसारण कार्यालय बर्दिबास मधेश प्रदेशमा विभिन्न कार्यक्रमसहित मनाइएको छ ।

बर्दिबासको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी भएका वक्ताहरूले नेपालको अग्रणी प्रसारण संस्थाको रुपमा रहेको रेडियो नेपाल पछिल्लो समयमा सूचना प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गर्दै अगाडी बढ्न थालेको खुशी व्यक्त गर्नुभयो ।
रेडियो नेपालका प्रादेशिक प्रसारण कार्यालय बर्दिबास मधेश प्रदेशबाट अहिले मैथिली, भोजपुरी, बज्जिका, मगही सहितका स्थानीय भाषाका अतिरिक्त नेपाली तथा हिन्दी भाषामा समाचार र कार्यक्रम उत्पादन एवं प्रसारण गर्दै आएकोमा यसलाई थप परिष्कृत गरेर अगाडी बढ्न जरुरी रहेको उहाँहरूले बताउनुभयो ।
प्रादेशिक प्रसारण कार्यालय बर्दिबासका कार्यालय प्रमुख रामपुकार रामले रेडियो नेपालमा पछिल्लो समयमा निक्कै योग्य तथा सक्षम युवा पुस्ताहरूको प्रवेश निक्कै बढेकोले सोही अनुसारको सामाग्री उत्पादन एवं प्रसारणमा जोड दिन आग्रह गर्नुभयो ।
सेवा निवृत्त कर्मचारी बौएलाल चौधरीले आफू रेडियो नेपालमा प्रवेश गर्दा र अहिलेको अवस्थासम्म आइपुग्दा प्रविधिमा व्यापक परिवर्तन भएको बताउँदै अगामी दिनमा थप परिवर्तन हुने आशा व्यक्त गर्नुभयो ।
मुख्य प्राविधिक अधिकृत सूर्यनारायणलाल कर्णले रेडियो नेपालमा विश्वमा आएको परिवर्तनसँगै परिवर्तन भए पनि यसमा काम गर्ने सञ्चारकर्मीहरूले थप मेहनत गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा रेडियो नेपालका वरिष्ठ सम्वाददाता अजय कुमार झा तथा भोजपुरी भाषाका समाचार वाचिका नम्रता कर्ण सहितका वक्ताहरूले विश्व सञ्चार जगतमा आएको परिवर्तनसँगै रेडियो नेपालमा भएको प्रगति तथा भावी दिनमा आउने चुनौती र अवसरका विषयमा बोल्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्