मुग्लिन-मलेखु सडकखण्ड थप तीन रात बन्द हुने
चितवन । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड थप ३ रात बन्द हुने भएको छ ।
चैत २०, २१ र २२ गते राति १० बजेबाट बिहान ४ बजेसम्मका लागि आवागमन बन्द गर्न लागिएको हो । आज जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै यो जानकारी दिएको हो ।
सडक निर्माणलाई सुरक्षित र प्रभावकारी बनाउन सडक बन्द गरेर कामलाई तीव्रता दिन लागिएको कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।
मुग्लिन–नागढुङ्गा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नति भइरहेको छ ।
एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाबाहेकका सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधनको आवागमन बन्द रहने जनाइएको छ ।
सडक बन्द रहेको समयमा यात्रुहरूलाई पर्नसक्ने असुविधा र थप जानकारीका लागि सडक योजनाका सूचना अधिकारी मिश्र (९८४९५४४६०७) र इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीकसिंह (९८५५०९०१२०) लाई सम्पर्क गर्न प्रशासनले आग्रह समेत गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्